झापाः सरकारले हात्तीपाइले रोग निवारणका लागि यस रोग विरुद्घको औषधी खुवाउने अभियान सञ्चालान गरे पनि सर्वसाधारणले औषधि नखाइदिनु सबैभन्दा ठूलो चुनौती भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको हात्तीपाइले रोग निवारणसम्बन्धी नगरपालिकास्तरीय अन्तरक्रियामा सहभागी स्वास्थ्यकर्मीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्यकर्मी जीवन चौलागाईँले हात्तीपाइले (फाइलेरिया) रोग फैलनुबाट रोक्न र बिरामीको सङ्ख्यामा कमी ल्याउन तथा हात्तीपाइले (फाइलेरिया) रोगका बिरामीहरूलाई दीर्घरोग, अशक्त र कुरूपता हुनबाट बचाउनु नै हात्तीपाइले रोग निवारण कार्यक्रमको मुख्य उद्देश्य रहेको सहभागीलाई बताए । नेपालले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य लिएको छ ।

हात्तीपाइले रोग निवारण राष्ट्रिय कार्यक्रम अन्तर्गत फागुन १५ गतेदेखि स्वास्थ्यकर्मीद्वारा आम नागरिकलाई औषधि सेवन गराउने कार्य शुरु हँदैछ । । रोगको सङ्क्रमण हुनबाट बचाउनु, यो रोगबाट प्रभावित जिल्लाभित्र बसोबास गर्ने औषधी खानयोग्य सबै जनसमुदायलाई रोग विरुद्धको औषधि (डी.इ.सी. र अल्वेन्डाजोल) चक्की वर्षको एक एक पटक गरी ४ देखि ६ वर्षसम्म खुवाउने र रोग व्यवस्थापन तथा अपाङ्गता रोकथामका लागि रोग लागिसकेका बिरामीलाई सरल तथा प्रभावकारी स्वयम् उपचार विधि अपनाउन लगाउने यसको रणनीति रहेको छ ।

हात्तीपाइले रोगको निवारणमा प्रयोग हुने औषधीका बारेमा जानकारी गराउँदै चौलागाईँले डाइईथाइलकार्बामाजिन (डी. इ. सी.) अल्बेन्डाजोलका बारेमा सहभागीलाई जानकारी गराएका थिए । औषधि खाँदा वा खुवाउँदा याद राख्नु पर्ने कुराहरुका बारेमा समेत उनले जानकारी दिए । कार्यक्रममा यी दुवै प्रकारको चक्की औषधी खानासँगै अथवा खानापछि खानुपर्ने र खालीपेटमा औषधी खान नहुने बताए ।
अहिले पनि झापामा मात्र २५ देखि ३० प्रतिशतले यो औषधी खाने गरेका छैनन् । औषधी खानु हुँदैन भन्ने गलत धारणााका कारण यो अभियान सफल हुन नसकेको स्वास्थ्यकर्मीको भनाइ छ । अभियान सञ्चालन गरेर टोलटोलमा गएर यो औषधी खानुहोस् भनेर दिँदासम्म मानिसले नखाइदिएका कारण यो रोग नियन्त्रणमा समस्या रहेको स्वास्थ्य शाखा संयोजक शशीकला राई बताउँछिन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्घको औषधी खुवाउने अभियान सञ्चालन गर्दै आएको छ ।

मेची अञ्चल अस्पतालका प्रमुख एवम् वरिष्ठ फिजिसियन डाक्टर पीताम्बर ठाकुरका अनुसार क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । डा. ठाकुरका अनुसार हात्तीपाइले सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट लाग्छ् । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ वर्षपछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई बेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीको अनुमान छ ।