फाइल तस्बिर
विराटनगरः नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव)सँग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन् ।
विगतका घटनाबाट पाठ सिक्नुपर्नेमा जोड दिँदै उपसभापति गच्छदारले सम्बद्ध पक्षसँग वार्ता गरी समस्या समाधान गर्नका लागि सरकारलाई प्रतिपक्षको सहयोग रहने उल्लेख गरे ।
वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको उनको आरोप थियो ।
मुलुकमा राजनीतिक परिवर्तन ल्याउन प्रतिपक्षलगायत अन्य राजनीतिक दलको ठूलो योगदान रहेको छ भन्दै उपसभापति गच्छदारले बहुमतको सरकारले मात्र सङ्घीयताको सफल कार्यान्वयन गर्न नसक्ने जिकिर गरे ।
नेपाली काङ्ग्रेसले संविधानमा धर्मनिरपेक्षता स्वीकारिसकेको अवस्थामा हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने धारणा नेपाली काङ्ग्रेसको आधिकारिक धारणा नभएकोे उनको भनाइ थियो । नेपाली जनताको स्वीकार्य संविधान बनाउनका लागि संविधान संशोधन आवश्यक रहेको उनले बताए ।