इलामः इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आफ्ना स्वर्गीय पितृहरूको सम्झनामा एकतप्पाको रूपाटारस्थित सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) सम्म जाने मोटरबाटो निर्माणका लागि २ लाख प्रदान गरेका छन् ।

आफ्ना स्वर्गीय बाबु नन्दकुमार श्रेष्ठ, आमा मनमाया, दाजु हरि प्रधान, दिदी हरिकुमारी र सासू मीना श्रेष्ठको सम्झनामा अध्यक्ष श्रेष्ठले सहयोग गरेको बताइएको छ । मन्दिरसम्म पुग्नका लागि मोटरबाटो अभाव भइरहेका बेला गाउँपालिका अध्यक्ष श्रेष्ठले २ लाख लगानीमा मोटरबाटो निर्माण गरिदिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । मोटरबाटो निर्माणका लागि दुर्गा विष्ट र यामकुमार बुढाथोकीले जग्गा दिएका थिए ।

पर्यटकीय स्थलको रूपमा चिनिएको सो मन्दिरमा पूजाआजा गर्न एकतप्पा, फाकफोक, आमचोक, लुम्दे, फुएतप्पा, गजुरमुखीलगायतबाट श्रद्धालु तथा भक्तजन आउने गरेका छन् ।