इलामः इलामको फाकफोकथुम गाउँपालिकामा माटोमा अम्लीयपना बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर कृषि ज्ञान केन्द्रमा किसानले ल्याएको माटोको नमुना परीक्षण गर्दा अम्लीयपना बढी भेटिएको हो ।
८० जना किसानको माटोको नमुना परीक्षण गर्दा अम्लीयपनाको मात्रा पाइएको कृषि विकास शाखा फाकफोकथुमका कुशेश्वर यादवले बताए । सो गाउँपालिकाको वडा नं १, २, ३ र ६ को माटो परीक्षण गरिएको थियो ।
त्यस्तै शिविरमा ५० किसानले बाली उपचार गराएका थिए । सुन्तला, कागती र अलँैची बालीको उपचार गरिएको थियो । पछिल्लो समय सुन्तला, कागती र अलैँचीमा देखिएको रोग निदानका लागि कृषि प्रमुख यादवले निमराज, निलोतुथो र कृषि चुनको प्रयोगलाई बढाउँदै लैजानुपर्ने सुझाव दिए ।
माटो शिविरमा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकालाई तीन÷चार वर्षमा रासायनिक मलमुक्त बनाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउँदै लैजानेमा जोड दिए । उनले रासायनिक मलको प्रयोगले नागरिकको स्वास्थ्यमा समेत असर पर्दै गएकाले गाउँ कार्यपालिकाको बैठकबाटै रासायनिक मललाई प्रतिबन्ध लगाउने नीति अवलम्बन गरिने बताए ।