इटहरीः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सुनसरी नेपाली काङ्ग्रेसको प्राण रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस इटहरी नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सबैतिर काङ्ग्रेस पराजित हुँदै गर्दा सुनसरीले काङ्ग्रेसको इज्जत बचाएको उनको भनाइ थियो ।
अहिले काङ्ग्रेस सरकारमा नहँुदा कार्यकर्तामा एकातिर चरम निराश र अर्काेतिर तीव्र महत्वाकांक्षा रहेको उनले बताए । अबका कार्यकर्ता आलोचनात्मक चेतका साथ पार्टीको अवस्था पत्ता लगाउने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।
युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, संविधान जारी गर्नेदेखि तिनै तहको निर्वाचन गराउने सम्मको ऐतिहासिक काम काङ्ग्रेसको नेतृत्वमा भएकोले कसैले पनि लघुताभास गर्न नहुने उनले बताए । ‘बारम्बार काङ्ग्रेसले आफू हार्ने काम गर्यो होला तर देशलाई जिताउने नेतृत्व गर्याे’, उनले भने, ‘त्यसैको बलमा थप सङ्गठन बनाउन लाग्न कार्यकर्तालाई अनुरोध गर्दछु ।’
अहिले काङ्ग्रेसभित्र केही रणनीतिक र शासकीय कमजोरी भएको स्वीकार्दै उनले अब त्यस्तो नहुने बताए । काङ्ग्रेस आफू सम्हाल्लिएन भने र आफूले सम्हाल्न सकेन भने देश नै खतरामा पर्न सक्ने उनको भनाइ थियो ।
पछिल्लो बम बिस्फोटनका घटनाप्रति इङ्गित हेर्दै उनले देशमा सङ्कट आइपर्ने सङ्केत देखिएको बताए । अहिले विश्वव्यापी रूपमा प्रजातन्त्रका विरुद्धमा मत बलियो भइरहेको बेला नेपालको लोकतान्त्रिक मूल्य र मान्यतामाथि सङ्कट पर्न सक्ने बताउँदै त्यसको नेतृत्व अहिलेको कम्युनिष्ट नेतृत्वको सरकारले गरिरहेको उनले आरोप लगाए ।

सङ्घीयताको विरुद्धमा चित्रबहादुर केसीभन्दा पनि बढी प्रधानमन्त्री ओलीलाई देखिएको कुरा प्रहरी ऐन र सिडिओलाई दिएको अधिकार हेर्दा प्रष्ट हुने उनले बताए ।

‘प्रधानमन्त्रीज्यू रेल होइन, विद्यालयमा शिक्षक पठाउनुस्’, प्रधानमन्त्रीसँग आग्रह गर्दै उनले भने, ‘भौतिक पूर्वाधारप्रतिको आशक्तिले चीनले श्रीलङ्काका स्रोतमाथि गरेको हस्तक्षेप जस्तो अवस्था देखा पर्छ ।’