इटहरीः विवेकशील साझा पार्टीको प्रदेश १ संयोजकमा अनिल भेटवाल नियुक्त भएका छन् । झापा स्थायी घर भएका भेटवाल शनिबार प्रदेश संयोजकमा नियुक्त भएका हुन् ।
केन्द्रीय संयोजक रवीन्द्र मिश्रले माटोको टीका लगाएर भेटवाललाई प्रदेश नं १ को संयोजकको जिम्मेवारी दिएका हुन् । ‘प्रदेश संयोजक घोषणा कार्यक्रम’को आयोजना नै गरी भेटवाललाई संयोजकको जिम्मेवारी दिइएको थियो । पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य, नेता केशव दाहाल, प्रकशचन्द्र परियारलगायतको उपस्थितिमा उनी संयोजक भएका हुन् ।
पदभार ग्रहणपछि प्रदेश पोर्टलसँग कुरा गर्दै उनले देशमा वैकल्पिक शक्तिको खाँचो महसुस भएकाले आफू विवेकशील साझा पार्टीको नेतृत्वमा जान चाहेको बताए । २०४६ सालपछिको राजनीतिक अभ्यासबाट नेपाली जनता कोही पनि सन्तुष्ट हुन नसक्नुले नै आफ्नो राजनीतिक यात्रा शुरु भएको उनले बताए ।
आफ्नो काँधमा पार्टीको प्रदेश हाँक्ने जिम्मेवारी परेको भन्दै उनले २०७५ साल भित्रमा झापा, मोरङ र सुनसरीको जिल्ला कमिटीलाई पूर्णता दिने र २०७६ सालमा प्रदेशका सबै जिल्लामा प्रदेश कमिटी निर्माण गर्ने आफ्नो योजना रहेको उनले बताए ।
विवेकशील साझा पार्टीले यसअघि नै प्रदेश ३ मा समीक्षा बास्कोटा, गण्डकी प्रदेशमा महेश भण्डारी, प्रदेश ५ मा अनुपमान सैँजु, कर्णाली प्रदेशमा गेहेन्द्रप्रसाद दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमाललाई प्रदेश संयोजकमा चयन गरिसकेको छ ।