इलामः चालु आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा २ वटा सडक कालोपत्रे गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्रे योजनाको शुरूवात भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्पmत् कालोपत्रे हुन थालेको हो । ५९ करोड ८२ लाखको बजेटमार्फत् नेपालटार–शान्तिडाँडा–मङ्गलबारे–धुसेनी–गजुरमुखी–इभाङ–चतुरेमोड–दमक सडकको माङ्सेबुङ–२ इभाङको तिखेगोलाईदेखि माङ्सेबुङ–३ चतुरेसम्म १३ दशमलव २७ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।
त्यस्तै, सोही बजेटले मङ्गलबारे–पुङफुङ–एकातप्पा–सिकारीभञ्ज्याङ–फाकफोकथुम–रवि सडकको मङ्गलबारे बसपार्कदेखि सिकारीभञ्ज्याङ जाने साढे ९ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ ।
गजुरमुखीधामदेखि साढे २ किलोमिटर पश्चिम तिखेगोलाईदेखि चतुरेसम्मको सडक कालोपत्रे गर्न थालिएको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।
आयोजनाका लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत ऋण सहयोग रहेको बताइएको छ । निर्माण हुने दुवै सडक कृषि सडकको मापदण्डका आधारमा निर्माण हुने भएका हुन् । ३ दशमलव ७५ मिटर चौडाइको कालोपत्रे र नालीबाहेक ५ दशमलव २५ मिटर सबवेससहित नाली निर्माण हुने भएको निर्माण कम्पनीका निर्देशक दीपक गौतमले बताए ।