बेलबारी/ मोरङ बेलबारी– २ का २ जना जनप्रतिनिधिले चासो देखाएपछि एक जना अपाङ्ग व्यक्तिले उपचार पाउन थालेका छन् । महिनौंदेखि अँध्यारो कोठामा गुम्सिएर बसेका अपाङ्ग राजकुमार राईकोे उपचार हुन थालेको छ ।

बेलबारी–२ लालभित्ती निवासी ५५ वर्षीय राईको बोली आउँदैन । उनको उपचार अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । राईकी दिदीमात्र छिन् । उनको पनि बोली आउँदैन । उमेर छँदा दाउरा बेचेर दैनिकी चलाउने गरेका उनीहरू पछि मागेर खान थालेका थिए । लामो समयसम्म उनीहरू हराएपछि जनप्रतिनिधिको आँखामा उनीहरू परेका थिए ।

upchar  (1)

सामाजिक सुरक्षा भत्ताको परिचयपत्र बनाउने क्रममा उनीहरूको खोजी भयो । खोजीको क्रममा केराबारी–९ भलुवाको एक घरमा उनी भेटिए । उनको शरीरमा भएको घाउ पाकेर ओछ्यान र कोठा सबै दुर्गन्धित थियो । कोठाभित्र जानै नसक्ने किसिमको दुर्गन्धमा बसेका राईलाई कोठाबाहिर निकालेर नुहाइधुवाइ गरेको बेलबारी–२ का जनप्रतिनिधि कृष्ण लिम्बू बताउँछन् ।

उनको उपचारको लागि बेलबारीस्थित नोबेल अस्पतालमा ल्याइए पनि दुर्गन्धको कारण देखाउँदै स्वास्थ्यकर्मीले उपचार नै गरेनन् । डक्टरले बिरामीको उपचार गर्नको सट्टा दुर्गन्ध बढेको भन्दै उपचार नगर्नु दुर्भाग्य भएको पूर्व सांसद हर्कमान तामाङ बताउँछन् ।

त्यसपछि जिल्ला समन्वय समिति मोरङका सभापति नरेश पोख्रेलको सहयोगमा कोशी अञ्चल अस्पातालमा उपचारका लागि लगिएको नगर कार्यपालिका सदस्य खिना थापाले बताइन् । तर २ दिनसम्म डाक्टरले बिरामी नै नहेरेको थापाले बताइन् । कोशी अचल अस्पतालमा उपचार निशुल्क गर्नका लागि व्यवस्था मिलाए पनि २ दिनसम्म डाक्टरहरू नै छेउमा नाआएको तामाङले बताए ।

upchar  (2)

अहिले उनको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको मेरुदण्डको तल्लो भागमा पाकेर घाउ भएको छ । राजकुमारका बाबुआमा पनि दृष्टिविहीन थिए । दृष्टिविहीन नै भए पनि उनले छोराको नागरिकता बनाएका हुनाले सामाजिक सुरक्षा भत्ताको लागि जनप्रतिनिधिले उनको खोजी गरेका थिए ।

उनको उपचारका लागि खर्च अभाव हुन थालेको छ । अहिलेसम्म ७० हजार भन्दा बढी खर्च भइसकेको सदस्य थापाले बताइन् । उनको उपचारमा सहयोग जुटाउनका लागि आदर्श टोल विकास संस्थाका अध्यक्ष रञ्जीत गुरुङको संयोजकत्वमा समिति समेत बनेको छ ।