फाइल तस्बिर
इनरुवाः नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिढिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएका छन् ।
सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आइतबार आयोजित बृहत् सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेता खनालले जनमतबाट बढारिएको काङ्ग्रेसले सरकारलाई कमजोर देखाउन प्रयास गरिरहेको बताए । आफ्नै पार्टीभित्रको बढ्दो असन्तुष्टि र गुटका कारण आत्तिएर सरकारविरुद्धको दुष्प्रचारमा काङ्ग्रेस लागेको उनले बताए ।
विभिन्न समयमा मुलुकको बागडोर सम्हाले पनि दीर्घकालीन सोच र दूरदृष्टि अभावका कारण नेपाली काङ्ग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको नेता खनालको आरोप थियो ।
नेकपाका प्रदेश नं १ इञ्चार्ज भीम आचार्य, प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतलगायतले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।