विराटनगरः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४ औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गरे ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताए । केन्द्रीय सदस्य डा. कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४ औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियान थाल्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गरे ।
नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको उनको भनाइ थियो । न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्ने पनि उनले बताए ।