झापाः झापाको भद्रपुर नगरपालिका–३ मा बहुला कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी चौपाया मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बहुला कुकुरले टोकेपछि रेबिज लागेर चौपाया मरेका हुन् ।
वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बहुलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाया मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टराईले बताए । हाल रेविजविरुद्धको खोप वडा नं ३ सूर्यनगर र मङ्गलबारे क्षेत्रका पशु तथा मानिसलाई लगाइएको प्राविधिक भट्टराईले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा. पशुपति ढुङ्गानाले निःशुल्क खोप उपलब्ध गराएको उनले बताए । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडकमा हिँड्ने कुकुरको बन्ध्याकरण गरी सङ्ख्या घटाए पनि घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप नलगाई पाल्ने हुँदा यस्तो समस्या आउने गरेको बताए ।