पाँचथरः पाँचथरको फिदिम नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने तमोर नदीको पुलभन्दा १ किलोमिटर दक्षिणमा नदी दोहन भइरहेको छ ।
३ दिनदेखि लगातार स्काभेटर प्रयोग भएर नदीजन्य पदार्थ उत्खननको काम भइरहे पनि स्थानीय सरकार भने बेखबर बनेको छ । ४ दिन अघि पुगेका जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा र फिदिम नगरपालिकाका मेयर ओनहाङ नेम्बाङलगायत अनुगमनमा पुगेका थिए ।
सो अनुगमन टोलीले नदीजन्य पदार्थको निकासीमा हेलचेत्र्mयाइँ भएको बताउँदै प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन अनुसार उत्खनन गर्न सुझाव दिएको थियो । तर टोलीको निर्देशनलाई वास्तै नगरी स्काभेटर प्रयोग भइरहेको छ ।
२ महिना अघिदेखि जिल्ला समन्वय समितिले नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी ढुङ्गा–गिटी निकाल्न लागिएको आशङ्कामा नगरपालिकालाई सजग गराएको थियो । नदीमा प्रयोग भएको स्काभेटर निर्माणाधीन फिदिम–फालोट र साम्दिन घुम्ती–मायालुमोड सडक निर्माणका लागि प्रयोग भइरहेको छ । स्काभेटर प्रयोग गरिएको स्थानमा भेटिएका कन्काइ निर्माण सेवाका कर्मचारी विकास सेंढाईका अनुसार जिल्ला समन्वय समिति र फिदिम नगरपालिका बीचमा कुरा मिलेको भन्ने जानकारी आएकाले स्काभेटर प्रयोग गरिएको हो ।
उनले भने, ‘हामीलाई मेसिनले काम थाल्नु भन्ने जानकारी आएपछि थालेका हौँ । ३ दिन भयो काम भइराखेको छ ।’
यता, फिदिम नगरपालिकालाई भने आफ्नै क्षेत्रधिकार भित्र रहेको आफैँले ठेक्का दिएको आयोजनामा पनि के भइरहेको छ भन्ने जानकरी छैन । फिदिम नगरपालिकाका सूचना अधिकारी डम्बर आङदेम्बेले भने, ‘पछिल्लो पटक के भएको भन्नेबारेमा जानकारी छैन । स्काभेटर नै प्रयोग गर्न चाहिँ मिल्दैन ।’
२ महिना अघिदेखि जिल्ला समन्वय समितिले फिदिम नगरपालिकालाई यसबारेमा जानकारी गराउँदै आएको छ । तर नगरपालिकाले निकासी विधिवत बनाउने विषयमा प्रभावकारी काम गरेको छैन । अनुगमन नै प्रभावकारी छैन ।
यसअघि जिल्ला समन्वय समितिको टोलीसहित पुगेको अनुगमन टोलीले स्काभेटर प्रयोग भएको भनेर स्काभेटरको चाबी नियन्त्रणमा लिएर पछि फिर्ता गरेको थियो । अहिले पनि त्यसरी नै स्काभेटर प्रयोग भइरहेको छ तर अनुगमन कतैबाट पनि भएको छैन ।
‘हाम्रो त सम्झाइदिने काम हो’, निमित्त स्थानीय विकास अधिकारी प्रेम काफ्लेले भने, ‘हामीले फिदिम नगरपालिकालाई उसको क्षेत्राधिकार भनेर पटक पटक जानकारी गराइराखेका छौँ । मौखिक मात्रै नभएर लिखित रूपमै पनि भनेका छौँ । हाम्रो काम समन्वय गर्ने हो । सम्झौताअनुसार भए नभएको हेर्ने काम नगरपालिकाको हो ।’
नगरपालिकाले गत असोज १ गतेबाट लागू हुने गरी १२ लाख १ हजार रुपैयाँमा सञ्जीव निर्माण सेवालाई ठेक्का सम्झौता गरेको थियो ।