झापाः मेचीनगर नगरपालिकाले नगरभित्र रहेका मासु पसललाई व्यवस्थित गर्दै अवैध रूपमा आयात हुने मासु तथा मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने भएको छ ।
गुणस्तरहीन माछा मासुजन्य खाद्यवस्तुको आयात एवम् अवैध रूपमा हुने ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले आयोजित सरोकारवासँगको अन्तरक्रियामा नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय सरकारले यसलाई व्यवस्थित गर्न कार्यनीति र निर्देशिका बनाएर ठोस नीति ल्याउने बताए ।
स्थानीयवासीको स्वच्छ सफा र स्वस्थ्य मासु उपभोग गर्नुपर्ने अधिकार भए पनि त्यस्तो वस्तु उपभोग गर्न नपाएको, फर्मालिन हालेर ल्याएको माछा खान बाध्य भएकाले अब स्थानीय सरकारले त्यसको अन्त्य गर्दै आफ्ना नागरिकलाई सफा र स्वस्थ माछा मासु उपभोग गराउने बताए ।
नेपालमा प्रतिबन्धित मासु तथा मासुजन्य एवम् पक्षी र पंक्षीजन्य वस्तुको आयातका कारण मानव शरीरमा नकरात्मक असर तथा नेपाली व्यवसायीको लगानी डुब्ने र व्यवसाय समेत सङ्कटमा पर्ने भएकाले अवैध आयातलाई निरुत्साहित पार्न सबै सरोकारवाला निकाय लाग्नुपर्ने उनको भनाइ थियो । नगरप्रमुख आचार्यले अब नगरको बधशालालाई समेत व्यवस्थित गरी त्यसबाट उत्पन्न हुने फोहोरमैलाको समेत उचित व्यवस्थापन गर्ने बताए ।
भारतमा उपभोग नहुने खसी तथा कुखुराका आन्द्राभँुडी र टाउको नेपालतर्फ सस्तो मूल्यमा ल्याएर बिक्री गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख आचार्यले त्यसको अन्त्य गर्न सबैसँग आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी सुरक्षाकर्मीका तर्फबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापा, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश घिमिरेले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तु भित्रिन नदिन स्थानीय प्रहरी प्रशासन सक्रिय रूपमा लाग्ने बताएका थिए । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले झोलामा भित्रिने मासु तथा मासुजन्य वस्तु भन्सारका कर्मचारीले तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको बताए ।
कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख पशु चिकित्सक मुकेशकुमार सिहंले चालु आर्थिक वर्ष २०७५—२०७६ को फागुन पहिलो सातासम्म कार्यालयले गरेको कामको विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार साउन महिनादेखि फागुन ९ गतेसम्म ४ सय ९८ वटा ब्रोइलर कुखुरा, ६ सय ३० वटा लोकल कुखुरा तथा ६ सय २५ केजी मासु नष्ट गरिएको थियो ।