झापाः झापामा यस वर्ष १ हजार ६ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ ।
‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका ८ वटा स्थानीय तहमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान केन्द्र झापा निमित्त कार्यालय प्रमुख शालिकराम भट्टराईले बताए ।
कार्यक्रमअन्तर्गत चैते धानको क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि गर्नका लागि किसानलाई १ करोड ६० लाख अनुदान उपलब्ध गराइने उनले बताए । ५ दशमलव १ प्रतिशत रहेको हालको उत्पादकत्वलाई वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।
कार्यक्रमअन्तर्गत झापाका ८ वटा स्थानीय तहमा २२ वटा क्लस्टर निर्माण गरिने भएको छ । जिल्लाको कमल गाउँपालिकाको १, गौरीगञ्जको १ देखि ६, हल्दीबारीको ४ र ५ वडामा १÷१ वटा क्लस्टर र बुद्धशान्ति गाउँपालिकाको १, ३ र ५ मा २÷२ वटा क्लस्टर निर्माण गरिने भएको छ ।
त्यस्तै, शिवसताक्षीको १, २ र ३ मा ३÷३ वटा, अर्जुनधाराको ४ र दमकको वडा नम्बर १० मा एक÷एक तथा गौरादह नगरपालिका–९ मा ९ वटा क्लस्टर निर्माण गरिने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक कृषि सहकारी, कृषक समूह, व्यावसायिक कृषक उद्यमीलाई आह्वान गरिएको निमित्त प्रमुख भट्टराईले बताए ।
३ स्थानीय तहमा वर्षे धानबालीमा अनुदान
त्यस्तै, झापाका तीन स्थानीय तहमा वर्षे धानबालीको उत्पादन सामग्री (उन्नत बीउबिजन, कृषि चुन, झोल मल, सुक्ष्म खाद्यतत्व मल) लगायतको खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरिएको बताइएको छ ।
‘उन्नत बीउबिजन उत्पादक सामग्रीमा सहयोग कार्यक्रम’ अन्तर्गत ५०÷५० प्रतिशत लागत सहभागितामा हल्दीबारी, झापा तथा गौरीगञ्ज गाउँपालिकाका कृषकलाई अनुदान उपलब्ध गराउन लागिएको कार्यालयले जनाएको छ ।