इलामः नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनताको अपेक्षा अनुरूप काम गर्न नसकेको बताएका छन् । उनले २ तिहाइ सरकारसँग जनताका अपेक्षा धेरै भए पनि सरकार गठन भएको पहिलो वर्ष जनअपेक्षा अनुसार काम नभएको बताएका हुन् ।

मुलुकमा राजतन्त्र अन्त्यपछि १० वर्ष लगाएर संविधान बनाउनुका साथै ३ तहको सरकार गठन भएको बताउँदै नेता खनालले सङ्घर्षको युगपछि अब मुलुक विकासको युगमा प्रवेश गरेको बताए । उनले देशलाई समृद्धिको दिशातर्फ उन्मुख गराउँदै गरिबी समाप्त गर्न सरकार अगाडि बढेको र देशमा रोजगारीको अवसर सिर्जना गर्न वैदेशिक रोजगारमा पलायन घटाउनुपर्नेमा जोड दिएका थिए ।

इलामको माई नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले २ तिहाइको सरकारले पहिलो वर्ष मुलुकलाई आवश्यक ऐन कानुन बनाएर काम गर्ने बाटो बनाएकाले आगामी आर्थिक वर्षदेखि विकासमा चाँडै फड्को मार्ने उदघोष गरे । ‘सङ्घीयताको नयाँ अभ्यास भएकाले पहिलो वर्ष सरकार ऐन, कानुन बनाउमा नै व्यस्त छ । आगामी बर्षबाट गाउँगाउँमा विकासका लहर देखिनेछ,’ उनले भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता खनालले नेकपा कार्यदल भङ्ग भए पनि केन्द्रीय सचिवालयले पार्टी एकताको काम सम्पन्न गर्ने बताए । उनले कार्यदल विघटन भएको अवस्थामा केन्द्रीय सचिवालयले पार्टी एकीकरणको कार्यलाई घनीभूत रूपमा अगाडि बढाउँदै चाँडै नै निकास निकाल्नेमा जोड दिए । केन्द्रमा एकता भए पनि तल्लो तहसम्म एकता हुन नसकेको बताउँदै नेता खनालले सचिवालयको नियमित रूपमा बैठक राखेर भए पनि कम्युनिष्ट एकताले सकारात्मक सन्देश दिने बताए ।

इलाम क्षेत्र नम्बर १ बाट सङ्घीय संसदमा निर्वाचित भएका खनालले माई नगरपालिका स्थित विष्णु महापुराण धनधान्याञ्चल लक्ष्मी महायज्ञको र समृद्धि माई कृषि सहकारीको उद्घाटन गरे । कार्यक्रममा प्रदेश सभाका सांसद तथा नेकपाका केन्द्रीय सदस्य धिरेन शर्मा, प्रदेश सांसद काजीमान कागते, माई नगरपालिकाका प्रमुख दीपक थेबे, उपप्रमुख विष्णुमाया आचार्यलगायतको उपस्थिति थियो ।