बेलबारी/ पर्यटकीय स्थलहरूको संरक्षण र संवद्र्धनमा कमी हुन नदिने राज्यको नीति भएको बताइरहँदा सुन्दरहरैंचामा रहेको, ऐतिहासिक महत्व बोकेको बाघझोडा पोखरी भने लामो समयदेखि संरक्षण र संवद्र्धनको अभावमा ओझेलमा छ ।
पूर्व पश्चिम राजमार्गको खोर्साने चोकबाट करिव २ किलोमिटर उत्तरमा पर्ने पोखरीको छेउसम्म कालोपत्रे सडक छ । यातायातको सहज पहुँच भए पनि पोखरी लामो समयदेखि ओझेलमा परेपछि स्थानीयहरू पोखरीको संरक्षणमा जुटेका छन् ।
बाघझोडा सिमसार संरक्षण समितिका अध्यक्ष तथा पूर्व सांसद चन्द्र गुरुङ नगरपालिकाले कुनै सहयोग नगरेको बताउँछन् । जनप्रतिनिधि आफैँले बुझेर यस्ता क्षेत्रको संरक्षणमा बजेट छुट्याउनुपर्ने भए पनि बेवास्ता भएको गुरुङ बताउँछन् ।
आन्तरिक पर्यटनलाई बढाउने अभिप्रायका साथ स्थानीयकै पहलमा केही दिन अघिदेखि पोखरीमा डुङ्गा सञ्चालनमा ल्याइएको थियो । तर पोखरीमा भएको जलकुम्भी झार र लेदोले गर्दा डुङ्गा सञ्चालनमा समस्या आउने देखेर स्थानीयहरू डुङ्गा सञ्चालनलाई रोकेर सरसफाइमा जुटिरहेका छन् ।
सर्वसाधारणकै सुविधाका लागि डुङ्गा सञ्चालनलाई रोकेर पोखरीको सफाइ गर्नुपरेको स्थानीय भीम राई बताउँछन् । उनी अहिले दिनहुँजसो पोखरीमै भेटिन्छन् ।
नगरपालिकाले पोखरीको संरक्षण तथा संवद्र्धनमा चासो नदिनु दुखद भएको उनको बुझाइ छ ।
अहिले त्यहाँ दैनिक ३०÷३५ जना श्रमिकले पोखरीको सफाइ गरिरहेका छन् । पोखरीको सफाइमा स्थानीयलाई जलजला क्रसर उद्योगले एउटा जेसिबी निःशुल्क प्रयोग गर्न दिएको छ ।
सात बिघा क्षेत्रफलमा फैलिएको यो पोखरीको वरिपरि तारघेरा गरिए पनि अहिले जीर्ण भइसकेको छ । पोखरीभित्र विभिन्न रमणीय टापुको निर्माण गरिएको छ ।
आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थानीयले आफ्नै लगानीमा निर्माण गरेर सञ्चालनमा ल्याएको जम्बो डुङ्गाले पोखरी सफाइमा ठूलो सहयोग गरिरहेको छ । डुङ्गा चाँडै सञ्चालनमा आओस् भनेर स्थानीय पनि सफाइमा जोडतोडका साथ लागेका छन् ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापा भने नगरभित्रका पर्यटकीय क्षेत्रको संरक्षणमा नगरपालिका लागिरहेको बताउँछन् । त्यसको लागि नगरपालिकाले बजेट छुट्याएको उनको भनाइ छ ।