झापाः राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि फागुन १५ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन गर्ने भएको छ ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी १५ दिने अभियानबारे पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिएका हुन् । ताप्लेजुङको पाथीभरा मन्दिरमा धार्मिक अनुष्ठान गरी यात्रा शुभारम्भ गरिने र ७७ वटै जिल्लामा यात्रा गरिने उनले बताए ।

पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भई सुर्खेत, कैलाली, कञ्चनपुर हुँदै काठमाडौँमा समापन गरिने पार्टीले जनाएको छ । यात्राका क्रममा २ सय ५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री लिङ्देनले बताए । पहिाले चरणको यात्रा ३६ जिल्लामा २ हजार ८ सय ७ किलोमिटरको हुने पनि उनले बताए ।

यात्राका क्रममा प्रत्येक दिन यात्रा प्रारम्भ र विश्राम धार्मिक अनुष्ठान हुनेर यात्रामा सनातन धर्म, परम्परा, संस्कृति एवम् राष्ट्रियता झल्किने झाँकी प्रदर्शन गरिने पनि उनले जनाए ।