बेलबारीः श्रीमतीको उपचारका लागि गायक विनोद गुरुङ कन्सर्ट गर्न थालेका छन् । ‘जीवन हाम्रो सङ्गालो ...’ बोलको गीत गाएका तथा नेपथ्यमा गितार बजाउँदै आएका विनोद तथा उनकी छोरी शिवानी गुरुङ विद्यालयमा कन्सर्ट गर्न तथा विभिन्न कार्यक्रम गरी रकमको जोहो गर्न थालेका छन् ।
पोखरा स्थायी घर भएका गुरुङका बाबुछोरीले मोरङका क्याम्पस तथा विद्यालयमा गीत गाउँदै उपचारका लागि आर्थिक सङ्कलन गरिरहेका छन् । ‘आमाको उपचारमा समस्या हुन थाल्यो’, छोरी शिवानीले भनिन्, ‘चन्दा माग्नुभन्दा आफ्नो प्रतिभा पनि देखाउन पाइने भएकाले कार्यक्रम गर्न थालेका हौं ।’
आमा रीता श्रेष्ठको उपचार भारतको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा भइरहेको समेत उनले बताइन् । आमालाई छालाको क्यान्सर भएको र ३० लाखभन्दा बढी खर्च भइसकेको उनले बताइन् । मोरङका सुकुना क्याम्पस, सुकुना मावि र लक्ष्मी माविमा कार्यक्रम गरिसकिएको विनोदले बताए ।
                    
        
        
                            
                                                            
        



















