झापाः झापाको मेचीनगर— ७ मा आगामी फागुन २३ र २४ गते हुने अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम ‘विराट सत्संग समारोह २०७५’ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुन गइरहेको कार्यक्रममा देश विदेशबाट सन्त महात्मा र भक्तजनको सहभागिता रहने पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

समारोहमा नेपाल मानव धर्म सेवा समितिका प्रणेता तथा अन्तर्राष्ट्रिय अध्यात्म प्रचारक सद्गुरुदेव श्री सतपालजी महाराजबाट उद्घाटन र आशीर्वचन व्यक्त हुने कार्यक्रम रहेको बताइएको छ । स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने बताइएको छ । कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भजनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि मानव धर्म सेवा समितिले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम गर्ने गरेको छ । धर्म र भगवानबारे रहेका विभिन्न मतको सार तत्वलाई दर्शाउँदै मानव धर्मले ईश्वरको साक्षात दर्शन गर्न सकिने बाटो समेत बताउने गरेको अध्यक्ष पौडेल बताउँछन् ।

उनका अनुसार यसअघि काठमाडौं, चितवन, हेटौडा, नेपालगञ्ज, महेन्द्रनगर लगायतका क्षेत्रमा धार्मिक कार्यक्रम सम्पन्न भइसकेका छन् । समारोहमा नेपाल तथा छिमेकी भारतका विभिन्न क्षेत्रबाट गरी १ सय बढी सन्त महात्मा र १ लाखको हाराहारीमा भक्तजनको सहभागिता रहने अपेक्षा आयोजकको छ । समारोहमा सहभागी हुन आउने भक्तजनका लागि बस्न र खानको व्यवस्थापनदेखि आकस्मिक स्वास्थ्य उपचारको व्यवस्था स्वयम्सेवक दलले गर्ने बताइएको छ ।

समारोहको व्यवस्थापनका लागि केन्द्रीय समिति, स्वयंसेवक दल, भक्तजनहरू सक्रिय भएको आयोजकको भनाइ छ । समितिले स्थानीय प्रशासन र विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर समारोहको तयारी गरिरहेको जनाएको छ ।

झापा जिल्लाको प्रतिष्ठा र पर्यटन प्रवद्र्धनसँग समेत जोडिएको अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक कार्यक्रम सफल पार्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा लिएको आयोजकको भनाइ छ ।

brihat satsang f