धनकुटाः विभिन्न सेवा सुविधासम्बन्धी विभिन्न माग राखेर आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत १ नम्बर प्रदेशका पहाडी जिल्लामा खटिएका प्राविधिकले मङ्गलबारबाट काम ठप्प पारेका छन् ।

फिल्डमा खटिएबापतको अतिरिक्त सुविधा, प्रोत्साहन भत्ता, स्वास्थ्य र दुर्घटना बीमा, भौतिक सुरक्षा तथा स्थानीय तहमा खटिएका प्राविधिकहरूको स्थायित्व र निरन्तरताको माग गर्दै आन्दोलित धनकुटा, तेह्रथुम र भोजपुर जिल्लामा कार्यरत ७० जना असिस्टेन सबइन्जिनियर, सबइन्जिनियर र इन्जिनियरले मङ्गलबारबाट कार्यस्थल छोडेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा आफ्ना मागका सम्बन्धमा पटकपटक जानकारी गराइए पनि सम्बोधनका लागि पहल नभएको भन्दै सङ्घर्ष समिति नै बनाएर आन्दोलित हुनुपरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हकहित संरक्षण समिति धनकुटाका अध्यक्ष विशाल शर्माले जनाए ।