बेलबारी/ मोरङको लक्ष्मीमार्गका ११ वर्षीय बालक समीप राईलाई मामाको साथी हुँ भन्दै नाटकीय ढङ्गले स्कुटरसहित अपहरण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्खुवासभाको खाँदबारी घर भएका उज्ज्वल तामाङलाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याएको छ । बालक सकुशल घर फर्किएका छन् ।
घटनाविवरणअनुसार आफू आर्मी भएको र मामाको साथी भएको भन्दै ५ दिनअघि तामाङ बालकको घरमा पुगेका थिए । उनले आफू लेटाङमा आयोजना हुने खेलकुद प्रतियोगितामा सहभागी हुन आएको तर कार्यक्रम सरेकाले साथीको घर आएको बताएका थिए । आफन्तको घरमा साँझको खाना खाएर आउने भन्दै स्कुटरमा बालकलाई राखेर उनी त्यहाँबाट निस्किएका थिए ।
बालकसहित हिँडेका उनी नफर्किएपछि परिवार उनको खोजीमा लागेको थियो । बालकका बाबु वैदेशिक रोजगारीमा गएका हुनाले उनी आमासहित मावलीमा बस्दै आएका थिए । राई स्थानीय माउण्ट एभरेष्ट इङ्लिस स्कुलमा कक्षा ५ मा पढ्थे ।
रातभर पर्खिदा समेत तामाङ नआएपछि पटक पटक फोन गर्दा फोन सम्पर्क नभएपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो । भोलिपल्ट उनीसँग परिवारको सम्पर्क भए पनि उनले फोन उठाउने तर नबोल्ने गर्न थालेपछि परिवार थप सशंकित बनेको बालककी माइजू समीक्षा राईले बताइन् ।
त्यसपछि उनलाई बरु स्कुटर लैजाऊ तर बालक फिर्ता गर नत्र प्रहरीमा जान्छौँ भनेपछि तामाङले बालक मोरङको हसन्दहमा रहेको बताएका थिए । त्यसपछि तामाङले बस चढाएर बालकलाई घरतिर पठाएर उनी सम्पर्कविहीन भएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा उनलाई झापाबाट स्कुटरसहित पक्राउ गरेको थियो । उनी बालकको मामाको साथी नभएको पत्ता लागेको छ । तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । उनका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए ।