भोजपुरः जिल्ला समन्वयात्मक विशेष बैठकले जिल्लाको विकास निर्माणका गतिविधिलाई तीव्रता दिने लक्ष्यका साथ ७ बँुदे घोषणापत्र जारी गरेको छ ।
बैठकले सबैखाले विकास निर्माणका कार्य मुख्य गरी दातृराष्ट्रबाट सञ्चालित योजनालाई सकरात्मक रूपमा लिँदै ती योजनामा निगरानी गरेर निर्धारित समयभित्रै सम्पन्न गराउन पहल गर्ने निर्णय गरेको छ ।
त्यस्तै, विभिन्न आयोजना सञ्चालन तथा सम्पन्न भएका स्थान वरिपरिबाट अवैध रूपमा गिटी बालुवा निकासी गर्न नदिन सम्बन्धित स्थानीय सरकार र प्रशासनबीच समन्वय गरी कानुन बमोजिम तत्काल नियन्त्रण गर्न लगाउने निर्णय गरेको छ ।
त्यस्तै भ्रष्टाचार र विभिन्न विसङ्गतिलाई नियन्त्रण गर्दै सु–शासन कायम गर्न सबै पक्षले पहल गर्ने, भोजपुरलाई प्रभाव पार्ने ठूलो योजनालाई केन्द्रसँगै स्थानीय तहले पनि अनुगमन गर्ने निर्णय गरिएको छ । प्रत्येक नगर तथा गाउँपालिकले एक तह एक नमूना योजना ल्याउने, प्रदेश सदस्य र प्रतिनिधिसभा सदस्यसहित चैत महीनामा एक प्रतिनिधिमण्डल तयार गरी अभियानको रूपमा सम्बन्धित निकायमा जाने घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै, सरकारी औपचारिक कार्यक्रममा अतिथि सत्कारका लागि महङ्गो ब्याच र खादामा हुने खर्चलाई कार्यक्रमको स्तरअनुसार बचत गरी बैंक खातामा जम्मा गर्ने र सो कोषलाई असहाय अशक्त कोष नामकरण गरी त्यस्ता व्यक्तिलाई सहयोगस्वरूप उपलब्ध गराउने उल्लेख छ ।
त्यसैगरी, भोजपुरको विकासका लागि सबै एक जुट हुने, विकासे कार्यालयले हरेक योजना कार्यान्वयन गर्दा स्थानीय सरकारसँग समन्वय गर्ने, काम गर्न स्थानीय सरकारले सकरात्मक वातावरण बनाइदिनुपर्नेे र विकास निर्माणका काममा सबैले पहल गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । बैठकमा स्थानीय तह र सरकारी कार्यालयले हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभा सदस्य, जिल्ला समन्वय समिति, स्थानीय तह र कार्यालयका प्रमुखको बैठकले सो घोषणापत्र जारी गरेको हो ।