झापाः झापामा ३ हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको ३ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्न अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए ।

रतुवामाई आयोजनालाई प्रदेश नं १ सरकार मातहतमा राख्ने गरी नयाँ योजना निर्माण भइरहेको उनले बताए । आयोजनाअन्तर्गतको जग्गामा एग्रो फरेष्ट निर्माणका लागि नयाँ प्रक्रिया शुरु गरिएको र आयोजनालाई प्रदेश सरकार मातहत ल्याउन काम भइरहेको पनि उनले प्रष्ट्याए ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट निर्माण गर्ने योजनाका साथ बजेटसमेत विनियोजन गरेको पोख्रेलको भनाइ छ । उनका अनुसार आयोजनाले वार्षिक ४ करोड आम्दानी गर्दै आएको र १ करोड राजस्व बुझाउँदै आएको छ ।

एग्रो फरेष्टको अवधारणाअनुसार आँप, लिची, कटहर, कागतीलगायतका फलफूलका बिरुवा लगाइने भएको छ । एग्रो फरेष्टबाट अहिलेको तुलनामा आम्दानी वृद्धि हुनुका साथै फलफूलमा आत्मनिर्भर बन्न सकिने प्रमुख पोर्तेलले बताए ।

वृक्षरोपण गरेर उत्पादित काठ दाउरा आपूर्ति गर्ने उद्देश्यले वि.सं २०३३ मा आयोजना स्थापना भएको हो । आयोजनाको कुल क्षेत्रफल २ हजार ९ सय ७२ हेक्टर रहेको छ । ती क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएका सालसँगै टिक, मसला, कदमलगायत जातका बिरुवा लगाइएका छन् ।