इलामः प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सहमतिबाटै प्रदेशको नाम र राजधानीको विषय टुङ्गो लाग्ने बताएका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) को उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नाम र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताएका हुन् ।
पहिचानको आधारमै प्रदेशको राख्दा किरात प्रदेश हुनुपर्नेमा आफूले जोड दिएको उनले बताए । प्रदेश सरकार अहिले आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम बनाउने काममा लागिपरेको जनाउँदै उनले आगामी वर्षको बजेटमा फाकफोकथुमको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
५ वर्षको अवधिमा प्रदेश नं १ मा कोही पनि जनता गाँस, बास र कपासविहीन भएर बस्नु नपर्ने उनको भनाइ थियो । प्रदेश सरकार समृद्धि र विकासको पक्षमा अघि बढिरहेको उनले बताए ।
धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले सो क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सहयोग रहने प्रतिबद्धता जनाए । सिँचाइ, विद्युत, कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्ने उनको भनाइ थियो ।
मन्दिर निर्माणका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) का अध्यक्ष पञ्चबहादुर योङहाङले बताए । कार्यक्रममा किराँत धर्मगुरू मुहिङगुम अङसिमाङ आत्मनन्द लिङ्देन र गुरूमा पवित्रहाङमा लिङ्देनले किराँत धर्मावलम्बीहरूलाई आशीर्वचन दिएका थिए ।