ताप्लेजुङः बुधबार दिउँसो ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएर देशले पर्यटन क्षेत्रका धेरै विशिष्ट व्यक्ति गुमाएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल लगायत ७ जनाको ज्यान गएको छ ।
एयर डाइनेस्टीको कल साइन एएमआइ भएको हेलिकप्टरमा सवार ७ जनाको मृत्यु पाथीभरा दर्शनपछि तारेभीरको खप्टेढुङ्गामा ठोक्किएर दुर्घटना भएको हो ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना यो मात्रै होइन । १२ बर्ष अगाडि ताप्लेजुङमा यस्तै भीआइपीलाई बोकेको हेलिकोप्टर दुर्घटना भएको थियो । २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको थियो हेलिकप्टर दुर्घटना । सो दुर्घटनामा परी तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, उनकी श्रीमती मीना राई, वरिष्ठ भूगर्भ तथा योजनाविद डाक्टर हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो ।
विश्वमा पहिलो पटक जङ्गल संरक्षणको जिम्मेवारी स्थानीय समुदायलाई दिएर फर्किने बेला हुस्सुमा परी घुन्साको फले भन्ने ठाउँको धुन्चे पहाडमा हेलिकप्टर दुर्घटना भएको थियो ।
प्रकृति, वन तथा वन्यजन्तु संरक्षणमा सक्रिय विशिष्ट समूह चढेको हेलिकोप्टर दुर्घटनामा परी सबैको मृत्यु भएपछि सरकारले सोही दिनको सम्झनामा हरेक असोज ७ गते ‘राष्ट्रिय संरक्षण दिवस’ मनाउन थालेको छ ।
दुवै दुर्घटनाको कारणः मौसम
घुन्सामा १२ वर्ष अगाडि दुर्घटना भएको श्री एयरलाइन्सको जहाज र बुधबार दुर्घटना भएको एयर डाइनास्टी दुवै हेलिकप्टरको दुर्घटनाको कारण मौसमको खराबी मानिएको छ । बुधबार दिउँसो १ बजे भएको दुर्घटनाको कारण खराब मौसम भएको प्रत्यक्षदर्शीदेखि सुरक्षाकर्मीहरूले बताएका छन् । घुन्सा दुर्घटनाको प्रतिवेदनमा पनि दुर्घटनाको मुख्य कारण खराब मौसम भएको बताइएको थियो ।