ताप्लेजुङः 'अन्धकार भीरमा आगो बालेर बसिरहेका छौँ तीन वटा शबहरु रुँघेर, फुरुरु हिउँ झरिरहेको छ, न ओताउने छाना न राम्रो संग अडिएर बस्ने ठाउँ, चिप्लिएर झरि हालियो भने एकै पटक तल पुगिन्छ’
हेलिकप्टर दुर्घटना स्थल ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मयामको तारेढुंगाबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापासँगकाे टेलिफाेन संवाद हाे याे ।
घटनाबारे जानकारी हुनासाथ सदरमुकामबाट दौडिएका डीएसपी थापा करिब ४ बजे घटना स्थलमा पुगेका थिए । कतै डोरी राखेर झुण्डिदै डीएसपीका पछि पछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी पुगेका थिए । भण्डारी साँझ सदरमुकाम फर्किए पनि अहिले घटना स्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी गरि ४५ जना बढि सुरक्षाकर्मी सब रुँघेर बसिरहेका छन् ।
विहानैदेखि ताप्लेजुङको मौषम प्रतिकुल बनेको छ । मध्यान्हदेखि पाथीभरा क्षेत्रमा हुरी बतास सहित हिमपात भएको थियो । अहिले पनि हिमपात भईरहेको डिएसपि थापाले बताए । नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरेर ४ वटा सब सुकेटार विमानस्थलमा ल्याएको छ । थापाले भने–‘गर्दा गर्दै रात पनि पर्यो, मौषम खराब भए पछि ४ बाहेक अन्य शब हेलिकप्टरले उठाउन सकेन, मानिसले बोकेर निकाल्न सकिने अवस्था छैन, तीन वटा सब रुँघेर बसेका छौँ, विहान पुन हेलिकप्टरबाट लैजाने तयारी भएको छ ।’ हेलिकप्टरमा बास्केट राखेर सबहरु सुकेटारमा ल्याईएको हो । भोली सबै सब संकलन गरिसके पछि काठमाण्डौ लगिने बताईएको छ ।
बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहितको टोलीलाई पाथीभरा दर्शन गराएर फर्किएको हेलिकप्टर मयामको तारेढुंगामा दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको छ ।