ताप्लेजुङः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राज्यले अवलम्बन गरेको गलत नीति र व्यवस्थाका कारण मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन थालेको बताएका छन् ।

मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको ताप्लेजुङमा आयोजित शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । थापाले महान् उपलब्धिका रूपमा ठानिएका गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको कार्यान्वयनपछि पनि नेपाली जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्न नपाएको बताए ।

यस्तै मुलुक विखण्डनकारी शक्तिको चंगुलमा पर्नै लाग्दासम्म सरकार चुप लागेर बसेको उनको आरोप थियो । पहिलो चरणको अभियान ताप्लेजुङबाट शुरु भएको हो । यात्राका क्रममा २ सय ५० भन्दा बढी सभा सम्मेलन गरिने महामन्त्री राजेन्द्र लिङ्देनले बताए ।