झापाः झापाको दक्षिणी क्षेत्रमा लगाइएको निजी वन हेर्न यतिबेला विभिन्न स्थानबाट किसान आउने गरेका छन् । यहाँ ३० बिघा जग्गामा भेषराज लोहनीको परिवारले कम्पनी नै दर्ता गरेर वन क्षेत्रको विस्तार गर्दै आएको छ ।

गौरीगञ्ज नगरपालिका–५ स्थित खजुरगाछी बजारदेखि ३ किलोमिटरको दूरीमा लोहनी परिवारले टिक, पाउलोनिया, मलेसियन साल, विजयसाल, क्रस महग्नीलगायत दर्जन बढी जातका बिरुवा हुर्काइरहेको छ ।
४ वर्षअघि स्थानीयको १ सय बिघा जग्गा किनेका लोहनीले ग्रीन फरेस्ट खजुरगाछी प्रालि नै दर्ता गरेर वन लगाउन शुरु गरेका हुन् । उनलाई यतिबेला सरोज लोहनीलगायत परिवारका सदस्यले साथ दिएका छन् ।

३० बिघामा निजी वन लगाएको प्रालिले बाँकी ७० बिघा जमीनमा कृषि परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको छ । वनमा यतिबेला २२ हजार बिरुवा हुर्काइरहेको प्रालिका प्रबन्धक सञ्जय लोहनीले बताए । १ करोड बढीको लगानीमा शुरु गरेको वनमा शुरुका दिनमा प्राविधिक ज्ञान नहुँदा निकै सकस भएको उनले बताए ।

स्थानीयलाई स्वरोजगार बनाउने र वातावरण स्वच्छ बनाउन र आम्दानीको सजिलो र भरपर्दो स्रोत भएकाले निजी वन शुरु गरेको लोहनीले बताए ।

झापाको अर्जुनधारा, शिवसताक्षी, दमक, मेचीनगर, बिर्तामोड र भद्रपुर नगरपालिकाभित्रका अधिकांश किसानले निजी वन लगाउन शुरु गरेको जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
झापामा हाल ५९ सामुदायिक वन, तीन कबुलियत वन र ४ सय १८ निजी वन रहेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । प्रमुख घिमिरेका अनुसार झापामा १८ हजार ६५ हेक्टर क्षेत्रमा ५८ सामुदायिक वन, तीन कबुलियत र २ वैज्ञानिक वन रहेका छन् भने ४ सय २८ दशमलव ३४ हेक्टर जमीनमा निजी वन रहेको छ ।

घिमिरेले निजी वन लगाउने किसानलाई सरकारले निःशुल्क प्राविधिक सहयोग प्रदान गर्दै आउनुका साथै उनीहरूलाई प्रोत्साहन गर्नका लागि नर्सरी उत्पादनमा अनुदानसमेत दिँदै आएको बताए । युवा दिनानुदिन विदेशिने र भएका जग्गा श्रमिकको अभावमा बाँझो हुँदै गएको बेला सरकारले निजी वनलाई प्रोत्साहन दिने उद्देश्यले किसानले उत्पादन गरेका बिरुवाका नर्सरीसमेत डिभिजन वन कार्यालयले नै किन्दै आएको घिमिरेले बताए ।