झापाः झापाको दमकमा आज बिहान एक बालकको शव ट्याक्टरमा झुण्डिएको अवस्थामा भेटिएको छ ।
दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैको वर्कसपमा दमककै ११ वर्षीय बालक अनिल दर्नालको शव झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मर्मतका लागि राखिएको को १ त ७४०० नम्बरको ट्याक्टरमा झुण्डिएको अवस्थामा मृत बालकको शव भेटिएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।
मृतकका आफन्त र स्थानीयवासीले घटना शङ्कास्पद भएको हुन सक्ने भन्दै छानबिनका लागि माग गरेका छन् । प्रहरीले घटनाको आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।
यसैगरी, दमक–८ स्थित जनता आधारभूत विद्यालयको प्रवेशद्वारको फलामे गेटले किचेर सोही वडा बस्ने छुक्का हेमरमका ७ वर्षीय छोरा विजेन्द्र हेमरमको बुधबार ज्यान गएको प्रहरीले जनाएको छ ।