पथरीः मोरङका २ वटा स्थानीय तहलाई समेटेर बिहीबार पथरीको जिरीखिम्तीमा ७ वटा सामुदायिक वनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार प्रमुखहरूले वन क्षेत्रमा बनाइने कंक्रिट कपुरथानले पर्यावरणलाई असर पारेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

उत्तरी मोरङका पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा १७ वटा सामुदायिक वन रहेका छन् ।
राष्ट्रिय राजमार्गसँग जोडिएका अधिकांश सामुदायिक वनमा अव्यवस्थित रूपले कंक्रिट कपुरथान निर्माण भएको देखिन्छ जसले वनको पर्यावरणलाई कुरुप पार्दै गएको अन्तरक्रियाका सहभागीले बताए ।

जातीय संस्कार अनुसारको चलनले स्थानीय वनहरूमा निर्माण भएका कपुरथानहरूले वन विनाश गर्नुका साथै पर्या पर्यटनमा समेत बाधा पुगेको सरोकारवालाले बताए ।
अन्तरक्रिया कार्यक्रममा वनमा अव्यवस्थित रूपमा बनाइने कंक्रिट कपुरथान निर्माण नियन्त्रण र वन डढेलो नियन्त्रण विषयमा अन्तरक्रिया भएको थियो । त्यस्तै, वन्यजन्तुको अवैध चोरीनिकासी नियन्त्रण, वन क्षेत्रमा फालिने फोहोरमैला नियन्त्रण र वातावरण प्रदुषण रोकथाम लगायतका ५ मुख्य विषयमा सामुदायिक वनका प्रतिनिधि र स्थानीय सरोकारवालाबीच अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, ग्रामीण सुधार वनका अध्यक्ष नवीन राई महिला जागृति वनकी अध्यक्ष चन्द्रकला चेम्जोङ, पशुपति सामुदायिक वनका अध्यक्ष ईश्वर चौहानका साथै विभिन्न जातीय सङ्गठनका प्रतिनिधि सहभागी थिए ।
पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा जम्मा १२ वटा सामुदायिक वन रहेका छन् । कार्यक्रममा ४ वटा सामुदायिक वनको भने प्रतिनिधित्व थिएन ।

tara bndr kafle

कार्यक्रममा ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष नवीन राईले स्थानीय बजारबाट उत्पादन हुने फोहोर वनमा लगेर फालिने गरेकाले वनको सौदर्यमा कमी आउनुका साथै वन प्रदूषण बढेर गएको बताए । स्थानीय सरकार यस विषयमा सजग हँुदै वन क्षेत्रमा फालिने फोहोर मैला व्यावस्थापनमा ध्यान दिन उनले आग्रह गरेका छन् ।

त्यसैगरी, पशुपति सामुदायिक वनका अध्यक्ष ईश्वर चौहानले वनमा भएका वन्यजन्तु सिकारीको सिकार भइरहेको अवस्थामा पक्राउ परेका तस्करहरू र पक्राउ पर्न बाँकी रहेका सिकारीहरूलाई पक्राउ गरी कडा कानुनी कार्वाही गर्न माग गरे ।
कार्यक्रममा उपस्थित पथरी शनिश्चरेका प्रमुख दिलीपकुमार राई र कानेपोखरीका प्रमुख ताराबहादुर काफ्लेले वनहरूले उठाएका सवालहरूलाई स्थानीय सरकारले गम्भीर रूपमा लिएको बताए ।
बजारबाट हाल निस्कँदै आएको फोहोरलाई व्यवस्थापन गर्न दुवै पालिकाले अन्य छिमेकी पालिकासँग सहकार्य गरी चाँडै उचित ठाउँमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।