इटहरीः पश्चिमी वायुको न्यूनचापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । मध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतः सफा रहने महाशाखाले प्रक्षेपण गरेको छ ।
त्यस्तै, शनिबार पनि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।