सोलुखुम्बुः सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान ९ बजेसम्म निरन्तर हिमपात भएको हो । स्थानीयका अनुसार यो हिमपात अहिलेसम्मकै उच्च हो ।
जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा २ फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताए । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो तापेर समय बिताइरहेका छन् ।
हिमपातका कारण माथिल्लो क्षेत्र पूरै ढाकेको छ भने सल्लेरी लगायतको क्षेत्रमा हिउँ खेल्नेहरूको चहलपहल पनि बाक्लिएको छ । बिहीबार बिहान करीब १० बजेदेखि मौसममा सुधार आएर घाम लागेसँगै खोलामा पानीको सतहसमेत बढेको छ । हिउँ पग्लेर भल बग्न थालेको स्थानीय प्रेमबहादुर बस्नेतले बताए । सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा १० इञ्चभन्दा बढी हिउँ जमेको छ ।
जनजीवन कष्टकर
निरन्तर भएको भारी हिमपातको कारण सडक यातायातदेखि पैदलयात्री समेतलाई समस्या भएको छ । अहिले लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न नसकेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज सञ्जीव चौधरीले बताए । ट्राफिक प्रहरी चौधरीका अनुसार सल्लेरीबाट जिल्ला बाहिरका लागि छुटेका जीप तथा अन्य सवारी साधन सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित बेलीडाँडा क्षेत्रमा रोकिएका छन् ।
जिल्ला भित्रने अधिकांश सवारी साधन ओखलढुङ्गाको ठाडेभन्दा यता कट्न सकेका छैनन् । सडकको विभिन्न क्षेत्रमा बस तथा जीपहरू फसेर बसेका छन् । फसेका सवारी साधनलाई उद्धार गर्न सक्ने अवस्थासमेत नरहेको इञ्चार्ज चौधरीले बताए ।
हवाई सेवा ठप्प
सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा चिनिएको सोलुखुम्बुमा आज कुनै पनि विमानस्थलमा उडान हुन सकेन । तेञ्जिङ हिलारी विमानस्थल र फाप्लु विमानस्थलमा नियमित उडान भइरहेको भए पनि भारी हिमपातका कारण कुनै पनि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जिल्लामा ४ वटा विमानस्थल भए पनि हाल २ वटा मात्रै सञ्चालनमा रहेका छन् । सञ्चालित विमानस्थलमा हिउँ जम्नुका साथै मौसम प्रतिकूलताको कारण उडान तथा अवतरण हुन नसकेको प्राधिकरणले जनाएको छ ।