भोजपुरः स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनियर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले ८ महिनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो । समितिले ४ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा कार्यरत इञ्जिनियर तथा प्राविधिकले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।

खाइपाइ आएको भौगोलिक प्रोत्साहन भत्ता तत्काल निर्णय गरी मासिक रूपमा उपलब्ध गराउनुपर्ने, प्राविधिकको स्वास्थ्य बीमा तत्काल लागू गर्नुपर्ने, स्थानीय तहमा रहेका प्राविधिकको स्थायित्व र दुर्घटना बीमा तत्काल लागू गर्नुपर्ने र प्राविधिकलाई गाउँमा सहज रूपमा बस्ने व्यवस्था तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अध्यक्ष वसन्तकुमार चौधरी र सचिव दीपककुमार शाहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।