धरानः किरात राई यायोख्खाको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
यायोख्खा भवनमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी लगभग सकिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले १० औँ राष्ट्रिय महाधिवेशनमा प्रदेशको नामकरण सबैको पहिचान खुल्ने आधारमा राख्नुपर्ने र त्यसका लागि किरात प्रदेश नामकरण गरिनुपर्ने पूर्ववत एजेण्डा कायम रहेको उल्लेख गरे ।
‘किरात प्रदेशका पक्षमा कसैको पनि विमति रहेको छैन । त्यसैले किरात प्रदेश नामकरण गरिनुपर्ने यायोख्खाको दाबी रहेको छ’, अध्यक्ष राईले पत्रकार सम्मेलनमा जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने अध्यक्ष राईले जानकारी दिए ।
धरानको भानुचोकमा फागुन १८ गते १ लाख भन्दा बढीको उपस्थितिमा कायक्रम उद्घाटन गरिने आयोजकको भनाइ छ ।
फरक खाले प्रचारशैली
यायोख्खाले यस पटकको महाधिवेशनको प्रचार शैलीलाई फरक ढङ्गले सम्पन्न गरेको छ । प्रचारका कार्यक्रमलाई सिर्जनात्मक रूपमा सम्पन्न गरेको यायोख्खाले जातीय संस्थाले गर्ने प्रचारको शैलीलाई भव्य र सभ्य बनाउन सकिन्छ भन्ने उदाहरण पनि देखाएको छ ।
यसअघि जातीय संस्थाको प्रचारशैली भड्किलो हुने गरेको आरोप लाग्दै आएको थियो । यायोख्खाले महाधिवेशनको प्रचार गर्न प्याराग्लाइडिङ, हाइकिङ, बास्केटवल खेल, बौद्धिक बहस र मोटरसाइकल ¥याली निकालेको थियो । यायोख्खाले पम्प्लेटिङमा गर्ने खर्च स्थानीय सञ्चारमाध्यममा गरेको छ ।
‘हामीले स्वतन्त्र मिडियासँग व्यावसायिक सहकार्य गरेका हाँै’, महाधिवेशन आयोजक समितिका प्रचारप्रसार उप समितिका संयोजक उपेन्द्र चाम्लिङले भने ।
पोस्टर र तुल ब्यानरले शहर फोहोर देखिने र बढी खर्चिलो हुने कुरालाई मध्यनजर गरेर सञ्चारमाध्यमसँग सहकार्य गरेर प्रचारप्रसारलाई अघि बढाएको उनले बताए । महाधिवेशन अवधिभर मिडिया डेस्क पनि राखिने उनले बताए ।