विराटनगरः प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १ सय ३६ औँ समूहको प्रहरी जवान आधारभूत तालीमबाट १ सय ३५ जना प्रहरी दीक्षित भएका छन् ।

वि. सं २०७५ जेठदेखि सञ्चालित उक्त तालीममा १९ महिलासहित १ सय ३५ जनाले २ सय १९ दिन सङ्गठनको परिचय, सुरक्षा, प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान, शारीरिक व्यायाम तथा चाँदमारी र कवाजमा प्रशिक्षण पाएका थिए ।

सो अवसरमा प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक केदार रिजालले उत्कृष्ट हुने तालीमका सहभागीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्दै नागरिकलाई केन्द्रमा राखी राष्ट्रको सर्वोपरी हितमा कार्य गर्न निर्देशन दिए । तालीममा पुरुषतर्फ राजेन्द्र ताजपुरिया र महिलातर्फ लक्ष्मीकुमारी थारु उत्कृष्ट भएका थिए ।

यसैगरी, चाँदमारीमा मोनराम राई, शारीरिक व्यायाममा अजय राई, प्रहरी युक्ति तथा कारवाहीमा आशिष लिम्बू र अध्ययनमा आदित्यमणि तिवारी पहिलो भएका थिए । तालीम केन्द्रको ५३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न खेलकुद कार्यक्रमको समेत आयोजना गरिएको थियो ।