इटहरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिडिया आफैँ जनतालाई भ्रम फैलाउले काममा लागिपरेको बताएका छन् ।
नेपाल टेलिभिजनले आयोजना गरेको पुनर्ताजगी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिडिया थप विश्वसनीय हुनुपर्ने बताए ।
अहिले केही अनलाइन मिडियाहरू जबर्जस्त नकरात्मकताको खोजी र खेती गर्ने लागेको उनको भनाइ छ । हरेक हिसाबमा नकारात्मक कुराको टिप्पणी गर्ने चलन व्याप्त भएको उनले बताए ।
अहिले देशको मुख्य एजेन्डा विकास र समृद्धि रहेकाले त्यसमा मिडियाले सकारात्मक आलोचना गर्न सक्नुपर्ने उनको भनाइ छ ।
प्रदेश सरकारप्रति जनताको विश्वास बढिरहेको भन्दै उनले प्रदेश १ लाई देशभरिकै नमुना प्रदेश निर्माण गरिने बताए । कतिपय विषयमा सङ्घीय सरकारको ढिलासुस्तीले काम गर्न समस्या परिरहेकोे उनले सुनाए ।
अब चाँडै नै परियोजना बैंक स्थापना गरेर लगानी सम्मेलनको आयोजना गर्न प्रदेश सरकार लागि परिरहेको उनको भनाइ छ ।
‘नेपाल टेलिभिजन जुन रफ्तारमा अगाडि बढ्नुपर्ने थियो त्यो गर्न सकेन’, उनले भने, ‘त्यसो हुनुमा देशको राजनैतिक अस्थिरता नै मुख्य कारक बन्यो । तर अब त्यो अवस्था छैन ।’