धनकुटाः धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाआश्रममा २ करोड ५० लाख बराबरको पितृ भवन निर्माण गरिएको छ ।
काठमाडौंका कृष्णगोपाल श्रेष्ठको रु ७६ लाख सहयोग अन्य विभिन्न दाताको सहयोगमा उक्त भवन निर्माण गरिएको हो । विश्रान्ति वृद्धाश्रमले आफ्नो ३५ औं साधारण सभाको अवसर पारेर दाता श्रेष्ठ र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङबाट उक्त भवनको उद्घाटन गरेको छ ।
उक्त भवनमा श्राद्ध लगायत विभिन्न पितृ कर्म तथा कार्यक्रम गर्ने तथा सेमिनार हलको सुविधा रहने संस्थाका महासचिव जनार्दन घिमिरेले जनाए । शारदाप्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विकास प्रधानले ३ करोड ११ लाख ७४ हजार बरावरको आयव्यय प्रस्तुत गरेका थिए । २०४० सालमा स्थापना भएको यस आश्रममा हाल ४४ जना आश्रित रहेका छन् ।