धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई प्रतिष्ठानको शुक्रबार बसेको ४२ औँ सिनेट बैठकले बर्खास्त गर्न प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।
उपकुलपति रौनियार बर्खास्त हुने सूचना सिनेट बैठक हुनु अगाडि नै सार्वजनिक भइसकेको थियो । रौनियारलाई सन्तोषजनक काम नगरेको तथा सहकुलपति (स्वास्थ्य मन्त्री) र कुलपति (प्रधानमन्त्री)को आदेश नमानेको आरोप लागेको छ । साथमा उनलाई केही आर्थिक तथा पदीय आचारण पालना नगरेको आरोप लगाइएको छ ।
सिनेटले प्रतिष्ठानमा भए गरेका भवन निर्माण, उपकरण खरिद, कर्मचारी नियुक्ति लगायतमा उपकुलपतिले ठेकेदार र सप्लायर्ससँग मोटो कमिसन खाएको, प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठको अधिकार खोसी आफूमा निहित गरेको लगायतका विषयमा शङ्कास्पद कार्य गरेको ठहर गरेको छ ।
यसअघि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा २ पटक बोलाइएको सिनेटलाई समेत बहिष्कार गरी तेस्रो पटक बोलाइएको सिनेट समेत प्रतिष्ठानको ऐन विपरीत भएको भन्दै प्रधानमन्त्री कार्यालयका विरुद्ध रौनियारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
नियुक्तिमै चलखेल
प्राडा राजकुमार रौनियार प्रतिष्ठानको उपकुलपति नियुक्त हुनुअघि उनी प्रतिष्ठानकै रेडियोलोजी विभागका प्रमुख थिए । रौनियारले विभागलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र अस्पताल प्रशासनलाई असहयोग गरेको आरोपमा तत्कालीन उपकुलपति प्राडा बीपी दासले विभागीय प्रमुखबाट हटाएका थिए । बीपी दासको पदावधि सकिएपछि तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले योग्यता, क्षमता र दृष्टिकोणका आधारमा उपकुलपति नियुक्ति गर्ने भन्दै सार्वजनिक सूचना आह्वान गरेका थिए ।
त्यसबेला ककसले कस्तो दृष्टिकोण प्रस्तुत गरेका थिए भन्ने कुरालाई स्वास्थ्यमन्त्री थापाले गोप्य राखे । अन्त्यमा उनले सार्वजनिक सूचनाबाट प्राप्त प्रस्तावलाई थन्क्याएर विभाग चलाउन असक्षम भनिएका प्राडा रौनियारलाई प्रतिष्ठान चलाउन उपकुलपतिको जिम्मेवारी दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रस्ताव गरे ।
पछि समाचार सूत्रहरूबाट सार्वजनिक भयो रौनियारले बिचौलिया प्रयोग गरेर १२ करोड रुपैयाँ बुझाएपछि उपकुलपतिमा नियुक्ति भएको हो । तर, उपकुलपति रौनियारले यो आरोपको खण्डन गरे । उनी नियुक्त भएलगत्तै एमआरआइ मेसिन खरिदमा उनको पहिलो नजर प¥यो ।
रौनियार रेडियोलोजी विभागको प्रमुख हुँदाका बखत प्रतिष्ठानले किन्न प्रस्ताव गरेको एमआरआइ मेसिन आवश्यक नभएको भन्दै किन्न अस्वीकृत गरेकाी उपकुलपति भएको छैटौँ दिनमा नै एमआरआइ मेसिन किन्न कस्सिए । त्यो पनि अघिल्लो पल्टको भन्दा ६ करोड महङ्गोमा । त्यसछि उनी विवादको घेरामा पर्न थाले । धेरैले अड्कल काटे नियुक्ति लिन बुझाइएको १२ करोड उठाउन उनले आफैँले असहमति जनाएको एमआरआइ मेसिन झण्डै ६ करोड रुपैयाँ महङ्गोमा किन्न प्रस्ताव गरे ।
क्षुद्र बोली, स्वार्थी व्यवहार
उपकुलपति रौनियार उनको विभागीय क्षेत्रमा दक्षिण एशियामा गनिने व्यक्ति हुन । तर उनले उपकुलपति पदको चाप र हैसियत बुझ्न सकेनन्, र आफू नै शक्तिशाली भन्ने भ्रममा परे । उनले आफूलाई मन नपर्ने र आफ्नो विरोध गर्नेहरूलाई तल्लो स्तरमा झरेर गाली गर्थे भने ‘युज एण्ड थ्रो’ को सिद्धान्त अनुसार व्यक्तिहरूसँग व्यवहार गर्थे ।
उनी निकट स्रोतका अनुसार अत्यन्तै लोभी स्वभावका उनी हरेक विषयमा आफ्नो भाग खोज्ने गर्थे । उनले प्रतिष्ठान भित्रका आन्तरिक विषयहरूमा बाहिरी व्यक्तिहरूको बढी प्रयोग गर्ने गर्थे । यस्तै कारणले पनि उनको समर्थनमा भएका व्यक्तिहरू चुप लाग्न थाले भने उनीविरुद्धको मोर्चाबन्दी पनि शुरु भयो ।
रौनियारको विरुद्धमा प्रतिष्ठानका रेक्टर, रजिष्ट्रारदेखि कर्मचारीसम्मका समूहहरू सक्रिय थिए । कतिपय ठाउँमा उनले स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीले आफूलाई केही गर्न नसक्ने भन्दै हिँडेको सुन्नमा आएको थियो ।
कामको भन्दा शक्तिको पिछा
उनी उपकुलपति हुँदैदेखि पूर्व उपकुलपति बीपी दाससहितको एउटा समूह उनलाई असफल पार्ने खेलमा लागेको थियो ।
नियुक्ति हुनासाथ उनले प्रतिष्ठानलाई राम्रो बनाउने विषयमा आफ्ना कुरा राखे । त्यसबेला उनललाई सबैले साथ र सहयोग दिएका थिए । तर उनले प्रतिष्ठानको अवस्था सुधार गर्न सकेनन् । उनको आलोचना शुरु भयो । उनका आलोचनाका समाचारहरू सञ्चारमाध्यममा आउन थाले । जसले गर्दा आलोचना गर्नेलाई चुप लाउने उपाय खोज्दै हिँड्न थाले । त्यस क्रममा उनले पत्रकारदेखि नेता सम्मका धेरै काम गरिदिएका छन् ।
जब उनलाई पदाधिकारीभित्रबाट असहयोग हुन थाल्यो उनले सबै अधिकार आफूमा राखे । अनि नेता, सांसददेखि सरकार र पार्टीहरूको भित्रिया शक्तिकेन्द्रहरूलाई खुशी बनाउन लागि परे । त्यस क्रममा उनले साढे २ करोड रुपैयाँको ‘सेटलमेन्ट’ गरेका थिए । त्यस ‘सेटलमेन्ट’मा स्थानीय नेतादेखि केन्द्रीय नेता र सांसदसम्म परेका छन् ।
उनलाई यस अघि २ पटकसम्म सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले निर्देशन दिएका थिए । तर उनले निर्देशनको अवज्ञा गरे । फागुन १६ गते हुने भनिएको सिनेट बैठक रोक्न उनले सर्वोच्च अदालतमा रिट हालेका थिए । उनले सरकारलाई विपक्षी बनाएर गैरकानुनी बाटोबाट सिनेट बैठक बोलाएको भन्दै रिट हालेका थिए ।
उनलाई सिनेटमा आफू अल्पमतमा पर्ने र बर्खास्तमा पर्ने जानकारी थियो । तर अदालतले उनको उजुरीमा कुनै सुनुवाइ हुन पाएन । अन्ततः उनी बर्खास्तको सिफारिशमा परे ।
कुरा ज्यादा, काम शून्य
उपकुलपति रौनियारले प्रतिष्ठानमा आएर देखाउन लायकको कुनै कार्य गरेका छैनन् । तर उनले गर्ने गफमा भने प्रतिष्ठानमा सबै कुरा छ गर्न बाँकी केही छैन भन्ने भान हुन्छ । तर प्रतिष्ठानका सबै सेवाहरू खस्किएको अवस्थामा छन् । दिनहँु गुनासाहरू आउँछन् तर कुनै पनि दिन उनले सेवाग्राहीका गुनासा सुन्ने कोशिस पनि गरेका थिएनन् ।