पथरीः घटना भएको ४८ घण्टा बित्न लाग्दासमेत प्रहरीले फितलो अनुसन्धान गरेको भन्दै परिवारले अझै शव बुझ्न मानेका छैनन् ।
मोरङको पथरीमा रहेको एक व्यापारिक भवनको सिक्का बार एण्ड लञ्जमा बिहीबार राति पथरीशनिश्चरे–७ वस्ने षडराज तामाङ केही साथीहरूको साथमा सो बारमा पुगेका थिए ।
साथीहरूको समूहमा बारमा रहँदा अर्को पक्षसँग विवाद भएको बताइएको छ । विवाद भएपछि आपसी समझदारीमा सो विवादको समाधान भएको र पुन अर्को विवाद हुन लागेपछि प्रहरीले जानकारी पाएर घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईले बताए ।
प्रहरी बारमा पुगेर उत्पन्न विवाद समाधानका लागि प्रयास गरेको सीसी टिभीको रेकर्डमा देखिन्छ ।
भवनको ५ औँ तलमा रहेको सो बारमा भएका ग्राहकहरूलाई बाहिर निकाल्ने क्रममा तामाङ तल्लो तलाको पूर्व पट्टि रहेको खुल्ला ठाउँतिर गएको र उनी फर्किएर नआएको प्रहरीले क्यामराको रेकर्डमा रहेको जानकारी दिएको छ ।
सो ठाउँ खुल्ला भएकाले तामाङको मृत्यु सोही ठाउँबाट झरेर भएको हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईंको भनाइ रहेको छ ।
यसरी प्रहरी नै घटनास्थलमा हुँदाहँुदै एक युवाको ज्यान जाँदासम्म प्रहरी भने बेखबर देखिन्छ ।
पथरीशनिश्चरे ७ बस्ने अन्दाजी २७ वर्षीय षडराज तामाङको बिहीबार राती अन्दाजी साढे १० बजे भवनको पूर्वपट्टि भएको खुला ठाउँदेखि तल रहेको सडकमा तामाङलाई रगताम्य अवस्थामा फेला पारेपछि प्रहरीले उपचारका लागि पथरी हस्पिटल पु¥याउँदा हस्पिटलले तामाङको मृत्यु भइसकेको भन्दै प्राथमिक उपचार नै नगरेको हस्पिटलले जनाएको छ । त्यसपछि प्रहरीले तामाङको शवलाई उर्लाबारीको मङ्गलवारे अस्पताल लगेको अस्पताल स्रोतको भनाइ रहेको छ ।
घटनापछि सोही स्थलमा रहेको प्रहरीले तामाङका साथमा रहेका साथीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालय लगेको थियो । बारका सञ्चालकलाई भने भोलिपल्ट तामाङका आफन्तले दबाब दिएपछि इलाका झिकाएर अनुसन्धान थालेको हो ।
सोही दिन बारमा भएको विवादमा परेका दमकका ग्राहकहरूलाई पनि प्रहरीले शनिबार इलाका झिकाएर सोधपुछ गरेको छ ।
घटना भएको लामो समयसम्म पनि प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन नसकेपछि तामाङका आफन्तले प्रहरीले सत्यतथ्य ढाकछोप गर्न खोजेको बताएका छन् ।
भाइको मृत्युमा पीडा सहन गरिरहेकी दिदी टीका तामाङ भन्छिन्, ‘प्रहरीले न्याय दिलाउनुभन्दा पनि न्यायलाई ढाकछोप गर्दै सत्यतथ्य लुकाउन खोजेको र पीडित पक्षको भन्दा पनि अन्य पक्षको आवाज सुनेर घटनाको वास्तविकता ओझेलमा पार्न खोजेको छ ।’
प्रहरीको कार्यमा शङ्का गर्दै तामाङका आफन्तले उर्लाबारीको मङ्गलबारे अस्पतालमा पोष्टमार्टमका लागि लगिएको शव धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान सहमति जनाउँदै शनिबार दिउँसो प्रतिष्ठान लगिएको मृतक तामाङकी दिदीले बताइन् ।
उनले पोष्टमार्टम भएपछि पनि प्रहरीले घटनाको सत्यतथ्य बाहिर नल्याउञ्जेल भाईको शव नबुझ्ने बताएकी छिन् ।
प्रहरीले तामाङको मृत्यु अग्लो स्थानबाट खसेर भएको भन्दै आएको छ भने आफन्तले भने हत्या भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।