धरानः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्दा सबैको पहिचान समेट्ने बताएका छन् ।
प्रदेशको नामकरण गर्दा कुनै क्षेत्र वा जाति विशेषलाई चोट पुग्ने गरी नराखिने बताउँदै साझा पहिचान खुल्ने गरी नामकरण गर्न आफूहरू प्रयासरत रहेको उल्लेख गरेका छन् ।
आजदेखि धरानमा शुरु भएको किरात राई यायोख्खाको १० औ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामकरण सोचविचार गरेरै हुने बताए ।
प्रमुख अतिथि मुख्यमन्त्री राई र विशेष अतिथि सभामुख प्रदीपकुमार भण्डारीले ढोल र झ्याम्टा बजाएर शुरु भएको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले अब १ नम्बर प्रदेशलाई देशकै १ नम्बर बनाउने अभियानमा जुट्न आग्रह गरे । देशको विकासमा सबैको साझा पहल हुनुपर्ने भन्दै उनले त्यसका लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले वर्षौको त्याग र तपस्याबाट प्राप्त भएको अधिकारलाई संस्थागत विकास गर्दै संमृद्ध प्रदेश र देश निर्माण गर्न सबै एकजुट हुनु आजको आवश्यक्ता रहेको बताए । कार्यक्रमको अध्यक्षता यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा तथा प्रतिनिधि सभाका सांसदको उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुनुअघि धरानमा यायोख्खाले हजारौँको सङ्ख्यमा सहभागी गराएर र्याली पनि निकालेको थियो । र्यालीमा किरातीको पहिचान झल्कने संस्कृतिक प्रदर्शनी पनि गरिएको थियो ।