इटहरी/ कोशी नदीले धार परिवर्तन गरेपछि सुनसरीको श्रीलङ्का टापुका स्थानीय त्रसित बनेका छन् । पछिल्लो तीन वर्षमा ५ सय मिटर जमिन कटान गरेर बस्ती नजिक नदीकोे भङ्गालो आउन थालेको स्थानीयले बताए ।

सुनसरीको बराह नगरपालिकाका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिकाका २, ३ र ९ गरी ५ वटा वडा रहेको श्रीलङ्का टापुमा करिब १० हजार जनसङ्ख्या रहेको छ । स्थानीय रुद्र श्रेष्ठले वर्षाका ४ महिना कठिन साथ बित्ने गरेको बताए । ‘रातदिन भन्न पाइँदैन कतिखेर बाढी आउने हो र सुरक्षित स्थानमा भाग्नुुपर्ने हो टुुङ्गो छैन,’ उनले भने ।

चतरादेखि केही तल सप्तकोशी नदीले २ धार बनाएको छ । मुुख्य भङ्गालो पूर्व तर्फबाट बगे पनि अर्काे भङ्गालो पश्चिमतिर बगेको छ । सोही भङ्गालो यस क्षेत्रका बासिन्दाका लागि टाउको दुखाइको विषय बन्ने गरेको हो । हाल बगेको सो भङ्गालोमा स्थानीयको लालपुर्जा रहेको जमिन गुमेको अर्का स्थानीय ध्रुव माझीले बताए । कृषि पेशामा आश्रित यस क्षेत्रका बासिन्दाले खेती किसानी तथा पशुुपालन गरेर गुजारा गर्ने गरेका छन् । ‘खेती गर्ने जमिन पनि कुन दिन नदीले बगाउने हो टुुङ्गो छैन । राज्यले हामीलाई नागरिकको व्यवहार गरिदिएन’, उनले भने ।

बराह नगरपालिका वडा नम्बर ६ का वडा सदस्य श्यामबहादुर मगरले सो भेगका जनताको दुःख भनिसाध्य नभएको बताए । हरेक साल आउने बाढीबाट विस्थापित हुनुपर्ने हो कि भन्ने त्रास रहने गरेको भन्दै राज्य भएको आभास नै नभएको उनले बताए ।

आफू स्थानीय सरकारको प्रतिनिधि भए पनि सप्तकोशीजस्तो ठूलो नदीमा नगरपालिकाले मात्रै केही गर्न नसक्ने भन्दै राज्यका माथिल्लो निकायले यस भेगका जनताको जीवन तथा जमिन जोगाउन उल्लेख्य भूमिका खेलिदिनुुपर्ने बताए ।

सोमबार मात्रै एक घण्टामा ४ मिटर जमिन नदीले कटान गरेको मगरले बताए । यही क्रमले जमिन काट्दै जाने हो भने बस्तीमा पस्ने निश्चित भएको उनले सुनाए । ‘बस्तीतिर सोझिएको नदीमा सामान्य तारजाली मात्र लगाए पनि हामी ढुुक्कले सुत्न पाउँथ्यौं,’ उनले भने, ‘अहिले त कति बेला बाढीले विनाश निम्त्याउने हो भन्ने टुङ्गो छैन ।’

अहिले जिल्ला प्रशासनबाट नदीमा पानीको बहाबको बारेमा निरन्तर सूचना आइरहन्छ । स्थानीयको मोबाइलमा घण्टैपिच्छे सूचना आइरहने हुँदा कुन बेला बढी सतर्कता अपनाउने हो भनेर प्रशासनको मोबाइल म्यासेज कुर्दै बिताउने गरेको मगरको भनाइ छ ।