इटहरीः उदयपुरको बेलका नगरपालिकामा महामारीले बाख्रा मर्न थालेका छन् । विगत १ महिनादेखि शुरु भएको महामारीका कारण नगरमा ५ सयभन्दा बढी बाख्रा मरिसकेका छन् ।
शुरुमा सिँगान आउने, टाउको सुन्निने र केही दिनमै कालो पखला लागेपछि बाख्रा मर्ने गरेको बाख्रापालक किसान मौसम राईले बताए । आफूले पालेका ३५ वटा बाख्रा १५ दिनमा सखाप भएको उनले जानकारी दिए । ‘शुरुमा केही बाख्रामा समस्या देखिएको थियो’, उनले भने, ‘भेटनरीबाट औषधी ल्याएर खुवाउन थाल्यौँ तर केही पनि भएन बरु खोरै रित्तियो ।’
त्यस्तै समस्या छ वडा नम्बर ८ का राजेन्द्र भुजेलको पनि । बिक्री गर्न ठिक्क पारेका ४ वटा खसी १ दिन बिराउँदै मरेको उनले सुनाए । नगरपालिकाका भेटनरी डाक्टरलाई सम्पर्क गर्दा कुनै वास्ता नगरेको उनले बताए ।
बाख्रापालन नै मुख्य पेशा अँगालेकी अम्बिका राउतका ३५ बाख्रामध्ये एक हप्ताभित्रमा ५ वटा समाप्त भए । अरु बाख्रामा पनि सिँगान आउन थालेको उनले सुनाइन् । बाख्राको बीमा गर्नुपर्ने बुझ्दाबुझ्दै समस्या आइलागेको उनको भनाइ छ ।
पर्वत राईले भोजपुरबाट खरीद गरेर ल्याएका १२ वटा खसी खोरमै सखाप भए । २ लाख रुपैयाँ मूल्यबराबरका खसी एकैपटक विनाश भएकोमा उनी चिन्तित छन् । महामारीकै रूपमा फैलिएको रोगको पहिचान अझैसम्म हुन नसकेको उनी बताउँछन् । सयौ किसानलाई निराश बनाएको उनको भनाइ छ ।
चुरे क्षेत्रमा पर्ने उक्त नगरपालिकाका सयौ किसानको साझा समस्या बनेको छ बाख्राको महामारी । तर यस्तो धेरै महामारी हुँदा समेत नगरपालिकाले चसो नदिएको स्थानीयको गुनासो छ । स्थानीय किसान मोहन घिमिरे नगरपालिकाका कर्मचारीदेखि जनप्रतिनिधिसम्म कानमा तेल हालेर बसेको बताउँछन् । नगरपालिकाले अन्य खेतीबालीमा ध्यान दिए पनि पशुपंक्षीको क्षेत्रमा चासो नदिएको बताउँछन् ।
उता वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार लिम्बू पीपीआर भन्ने रोगका कारण यो समस्या फैलिएको बताउँछन् । सामान्य समस्या भएको अवस्थामा किसानले निजी भेटनरीमा लगेर उपचार गराएको तर पछि विकराल भएपछि नगरपालिकामा जानकारी गराएको उनको भनाइ छ । आफूहरूले सक्दो प्रयास गरे पनि केही सुधार हुन नसकेको उनले सुनाए । जिल्ला कृषि कार्यालयदेखि प्रदेश सरकार सम्म समस्या पुर्याएको भए पनि अझैसम्म केही पनि सहयोग नभएको उनले बताए ।
के हो पीपीआर
पीपीआर पशुमा लाग्ने रोग हो । बेलका नगरपालिकाका पशु प्राविधिक शरणकुमार चौलागाईका अनुसार यो रोग मुख्य गरेर भेडाबाख्रालाई लाग्ने गर्छ । मौसम परिवर्तनसँगै फैलिने पारामिक्ज्यु भाइरसको कारण यो रोग फैलिने गरेको छ । मुख्यतया जङ्गल क्षेत्र र चारकोशे क्षेत्रमा यसले प्रकोपको रूप लिन सक्ने उनको भनाइ छ ।
यो रोग लागेपछि निको नहुने खालको हुन्छ । रोग लाग्न नदिनको लागि केही भ्याक्सिन प्रयोग गर्न सकिने भए पनि लागिसकेपछि उपचार सम्भव नहुने उनी बताउँछन् ।