विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १ सय वटा सामुदायिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्द्वारा आयोजित २ दिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उनले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिमा सहयोग पुग्नेगरी काम गरिने धारणा व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले प्रविधिबाटै मुलुकको आर्थिक विकास र जनताको समृद्धि हासिल हुने भएकाले प्राविधिक विश्वविद्यालय स्थापनाका लागि प्रदेशसभामा विधेयक पेश भइसकेको बताए ।

दक्ष युवा वैदेशिक रोजगारीमा जाने परिपाटी अन्त्य गर्न सरकारले वातावरण तयार गरिरहेको बताउँदै उनले मुलुकको विकासमा आफ्नो क्षमता, सीप र प्रविधि प्रयोग गर्ने जनशक्तिको उच्च मूल्याङ्कन गरिने बताए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरणप्रति सचेत भई विज्ञान र प्रविधिको प्रयोगबाट समृद्ध प्रदेश निर्माण गरिने बताए । आयोजक संस्थाका उपाध्यक्ष माधव ढुङ्गेलले विश्वविद्यालयमा ४० वर्ष अगाडिको प्रयोगशालालाई परिवर्तन गरी समयानुसार अब्बल बनाउनुपर्नेमा जोड दिँदै सम्मेलनको निष्कर्षलाई प्रदेशको नीति तथा योजना र कार्यक्रममा समावेश गरेमा मुलुकको समृद्धि हुने बताए ।

सोही संस्थाका उपसचिव देवीप्रसाद अधिकारीले विज्ञान र प्रविधिलाई प्रवद्र्धन गरी युवालाई नीति निर्माण तहमा सहभागी गराउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।

सम्मलेनको पहिलो दिन प्रा डा रामेश्वर अधिकारी, डा महेन्द्र थापा र शङ्कर खतिवडाले विज्ञान र प्रविधि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन मदन भण्डारी मेमोरियल प्रतिष्ठानका अध्यक्ष गुरु बराल र महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा तुलसीप्रसाद निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा प्रदेश नम्बर १ का ११ जिल्लाका २ सय विद्यार्थी र प्राध्यापकको सहभागिता रहेको थियो ।