प्रकाशपुरः नेपालकै होची भनेर दाबी गर्दै आएकी प्रकाशपुरकी १७ वर्षीया किशोरी कल्पना कविरथलाई नगरसभाको अवसरमा नगरपालिकाले ल्यापटप प्रदान गरेको थियो । वराहक्षेत्र–९ प्रकाशपुरको जुँगे चोक स्थायी घर भएकी कल्पनाको उचाइ २९ इन्चमात्र रहेको बताउँदै नगरपालिकाका मेयर नीलम खनालले ल्यापटप हस्तान्तरण गरेका हुन् ।

स्थानीय प्रकाशपुर डोबर इङ्लिस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत कबिरथलाई अध्ययनमा सहज गराउन ल्यापटप वितरण गरिएको मेयर खनालले बताए । मधेसी समुदायकी कल्पनालाई अध्ययनमा उत्प्रेरणा र सहज बनाउन ल्यापटप दिइएको बताइएको छ ।

शरीरका कारण लामो समयसम्म हिँड्न डुल्न असहज हुँदा समेत अध्ययनमा भने कल्पनाको राम्रो झुकाव रहेका कारण स्थानीय डोबर इङ्लिस बोर्डिङ स्कुलले निःशुल्क रूपमा पढाइरहेको स्कुलका निर्देशक रविन घिमिरेले बताए ।