विराटनगरः ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी र नेपाल सरकारका कर्मचारीसमेतको निधन भएकोमा दुःख व्यस्त गर्दै प्रदेश १ संसदले शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको संसद बैठकमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अधिकारीका अङ्गरक्षक अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोछिभय प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेशसभामा शोक प्रस्ताव पारित गरिएको हो । गत फागुन १५ गते भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

प्रदेशसभामा मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौनधारण गरी सदन फागुन २५ गतेसम्म स्थगन गरिएको छ । अर्को बैठक फागुन २६ गते १ बजे बस्नेछ ।