भोजपुरः घरघरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ सिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोहो गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् ।

पर्याप्त पानीको सुविधा भएपछि उनीहरूले अहिले पानी खोज्न जाने समय तरकारी खेतीमा लगाएका छन् । विगत वर्षमा आफूलाई खानका लागिसमेत तरकारी उत्पादन गर्न नसक्ने स्थानीयवासीले अहिले तरकारी बेचेरै मनग्गे आम्दानी गर्न पाएकामा निकै खुशी छन् ।

स्थानीय दानबहादुर खड्काले भने, ‘विगतमा पानीको निकै समस्या थियो । पानी खोज्न गाउँभरिका कुवा, धारा धाउँदैमा एक जनाको दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुशी लागेको छ । अहिले खेर गइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरिरहेका छाँै ।’

तत्कालीन जिल्ला विकास समिति र शहरी विकास मन्त्रालयको सहयोगमा ३ वर्षको प्रयासपछि खानेपानीे योजनाको काम सम्पन्न भएकाले स्थानीयवासीको समस्या टरेको हो । अहिले स्यालखेत खानेपानी मुहान र गाँठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानीयवासीलाई वितरण गरिएको छ । २ वटा खानेपानी आयोजनाका लागि करीब ५४ लाख खर्च भएको खानेपानी आयोजना निर्माण समितिले जनाएको छ ।

पानीको समस्यामा परेका गाउँका ६० घर बढी घरपरिवारले अहिले पानी उपभोग गर्दै आएका छन् । स्यालखोला उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खड्काले भने, ‘यहाँ पानीको निकै समस्या थियो तर अहिले २ खानेपानी आयोजनाको काम सकिएपछि पानीको समस्या हटेको हो । पानी आएपछि अहिले गाउँ नै हराभरा बनेको छ ।’

प्रत्येक घरको करेसाबारीमा लहलह तरकारी देख्न उनले बताए ।