इटहरी/ अघिल्लो दिन दोहोरो अङ्कले बढेको सेयरबजार मङ्गलबार पनि झण्डै ७ अङ्कले बढेको छ । बजार खुलेदेखि ओरालो लाग्दै गरेको नेप्से साढे १२ बजेदेखि सवा २ बजेसम्म स्थिर अवस्थामा रहेको थियो । त्यसपछि बिस्तारै उकालो लाग्न थालेको नेप्से सूचक अन्तत ६.६१ अङ्कले बढेर ११८०.९८ अङ्कमा रोकिएको छ ।

१९ करोडको कारोबार
समग्रमा बजार ०.५६ प्रतिशतले बढ्दा र कुल १६० कम्पनीको कारोबार हुँदा १८ करोड ९५ लाख ८६ हजार ७ सय ३५ रुपैयाँको ७ लाख ३२ हजार ७ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ । सबै ११ वटा समूहका सेयर कारोबार हुँदा २ वटाका सूचकमा मात्रै रातो पोतिएको छ । व्यापार समूह सबैभन्दा धेरै २.५० प्रतिशतले उकालो लाग्दा अन्य समूह सबैभन्दा धेरै ०.४७ प्रतिशतले तल झरेको छ ।

कुनै पनि कम्पनीको कारोबार रकम करोड पुगेन
नेप्से बढे पनि कारोबार रकम भने न्यून नै रहेको छ । झण्डै १९ करोडको कारोबार भएको बजारमा कुनै पनि कम्पनीले १ करोड रुपैयाँको कारोबार गर्न सकेन ।

कारोबार रकममा नेपाल इन्भेष्टमेन्ट बैंकले अग्रता लिएको छ । मङ्गलबार नै अघिल्लो आर्थिक वर्षको आकर्षक वित्तीय विवरण सार्वजनिक गरेकाले यसमा लगानीकर्ता बढी आकर्षित भए पनि ठूला लगानीकर्ताले चासो नदेखाउँदा यो कम्पनीको ८५ लाख ५३ हजार ९ सय २३ रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र ओम डेभलपमेन्ट बैंक परेका छन् । नेपाल लाइफको ८० लाख १५ हजार ३ सय ६० रुपैयाँको सेयर कारोबार हुँदा ओमको ७६ लाख ३५ हजार ६ सय ७० रुपैयाँको सेयर किनबेच भएको छ ।

सेयर सङ्ख्यामा ओम अघि
सेयर सङ्ख्याको आधारमा भने ओम डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो । यो कम्पनीको ४० हजार ६ सय २३ कित्ता सेयर कारोबार हुँदा दोस्रो स्थानमा रहेको एनसीसी बैंकको २७ हजार ९ सय ६० कित्ता सेयर किनबेच भएको छ । मेघा बैंकको २६ हजार ८ सय ७० कित्ता सेयर किनबेच भएको थियो ।

कारोबार सङ्ख्यामा सपोर्ट अघि
अघिल्लो साता ४ दिनसम्म लगातार १० प्रतिशतले सेयर मूल्य बढेको र यो साता लगातार १० प्रतिशतले सेयरमूल्य तल झरेको समता माइक्रोफाइनान्स कारोबार सङ्ख्याको आधारमा अघि देखिएको छ । १ सय ६० पटक सो कम्पनीको सेयर किनबेच हुँदा नेपाल लाइफको १ सय ४४ पटक र नेपाल इन्भेस्टमेन्टको १ सय २७ पटक सेयर किनबेच भएको छ ।

आरम्भले धेरै कमाउँदा मल्टीपर्पाेजले धेरै गुमायो
अघिल्ला दिनका कारोबारको झैँ मङ्गलबार पनि आरम्भ माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै, हिमालय डिस्टिलरीको ८.३१ प्रतिशत र सिटी एक्स्प्रेस फाइनासको सेयरमूल्य ५.८८ प्रतिशतले बढेको छ । पोखरा फाइनान्स र गेर्खाज फाइनान्सको सेयरमूल्य पनि ५ प्रतिशतभन्दा धेरै बढेको छ ।

अघिल्ला दिनको कारोबारको झैं मल्टिपर्पाेज फाइनान्सको लगानीकर्ताले सबैभन्दा धेरै ५.३६ प्रतिशतले सम्पत्ति गुमाउँदा वरुण हाइड्रोपावरका लगानीकर्ताले २.१७ प्रतिशत युनिलिभर नेपाल तथा हिमालयन पार्टनरका पावरका लगानीकर्ताले २ प्रतिशतका दरले सम्पत्ति गुमाउन पुगे ।

क वर्गका कम्पनीमा खरिद चाप
बजार बढेसँगै मङ्गलबारको बजारमा ‘क’ वर्गका कम्पनीमा खरिद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ०.६३ प्रतिशतले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.८५ प्रतिशतले बढेको छ । बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ५ अर्ब कायम भएको छ ।