झापाः झापाको मेचीनगर–६ काँकरभिट्टाका टीकाराम खनालले आफ्ना दिवङ्गत माता पिताको स्मृतिमा आधा दर्जन ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
आफू सानै छँदा मातापिताको मृत्यु भएको र उनीहरूको सम्मान गर्न नपाएकोमा आफ्नै मातापिता सरहका ज्येष्ठ नागरिकलाई सम्मान गरेको खनालले बताए ।
३ जना पण्डितद्वारा घरमै एक धार्मिक अनुष्ठानको आयोजना गरी ८५ वर्षीया जानुकादेवी उप्रेती, ७८ वर्षीया कुलमाया दाहाल, ७६ वर्षीय मानबहादुर पौडेल, ८१ वर्षीया नरमाया धिताल, ७७ वर्षीय नैनबहादुर थापा तथा ७६ वर्षीय टीकाराम ढुङ्गेललाई सम्मान गरिएको हो ।
खनाल परिवारले उनीहरूको सम्मानस्वरूप दोसल्ला पहिर्याएर अबिर टीका लगाएर भोजन गराएको जनाएको छ । उनले भने, ‘ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् । उनीहरूको सम्मान गर्नु सबैको कर्तव्य हो ।’