बेलबारी/ मोरङको सुन्दरहरंैचा नगरपालिकाले गौरवको योजनाका रूपमा लिएको वाकिङ स्ट्रिट निर्माणको काम निर्धारित समयमा १० प्रतिशत मात्रै सकिएको छ ।

सुन्दरहरंैचा नगरपालिका र स्थानीयको साझेदारीमा बनाउन लागिएको वाकिङ स्ट्रिटका लागि नगरपालिकाको ५० लाख, स्थानीयको ४९ लाख २० हजार तथा अन्य स्रोतबाट ३८ लाख ३० हजार खर्च गर्ने लक्ष्य थियो ।

समयमा काम नसकिँदा स्थानीयमा चिन्ता बढ्न थालेको छ । २०७५ जेठ १ गते निर्माण शुरु भएको सो योजना २०७५ असार २५ गते सम्ममा सक्नुपर्ने थियो । साउन बित्न लाग्दा पनि लगभग १० प्रतिशत मात्रै काम सकिएको छ ।

biratchook

पूर्व पश्चिम राजमार्गबाट दक्षिण लाइनतर्फ निर्माण गरिने उक्त वाकिङ स्ट्रिटको लम्बाइ ५ सय मिटर रहेको छ । सडक डिभिजन कार्यालयको अवरोधका कारण समयमै काम नसकिएको निर्माण समितिका अध्यक्ष ज्ञानप्रसाद ढकालले बताए । ‘सडक डिभिजन कार्यालयले शुरुमा ५५ फिट सडक छाडेर बनाउन सहमति दिएको थियो’, अध्यक्ष ढकालले भने, ‘अहिले सडक डिभिजनले काम गर्न दिएन ।’ बजार क्षेत्रमा बढ्दै गएको भीडभाड तथा दुर्घटना न्यूनीकरण गर्ने तथा बजारको सौन्दर्य थप्ने उद्देश्यका साथ निर्माण थालिएको योजना शुरु भएको केही समयमै बन्द भएको थियो ।

सडकको दुवैतर्फ १७ फुटको वाकिङ स्ट्रिट बनाउने गरी काम थालिए पनि ३ महिना सम्म पनि काम अगाडि बढ्न सकेको छैन । सडक डिभिजनले पहिले मौखिक सहमति गरेको र काम गर्न थालेपछि लिखित पत्र पठाएर काम रोकेको अध्यक्ष ढकालले बताए ।

सो वाकिङ स्ट्रिट नेपालकै पहिलो भनेर प्रचार गरिएको थियो । वाकिङ स्ट्रिट निर्माण रोकिएपछि राति ११ बजेसम्म बजार खुला गर्ने नगरपालिकाको योजना पनि अलपत्र परेको छ । वाकिङ स्ट्रिट नबनेकाले सो क्षेत्रमा निर्माण गर्ने भनिएको रात्रिकालीन बजारको योजना अलपत्र परेको हो ।

वाकिङ स्ट्रीट बन्दा व्यापार व्यवसायमा समेत राहत पुग्ने उद्योग वाणिज्य संघ कोशीहरैंचाका अध्यक्ष तथा वाकिङ स्ट्रिट निर्माण समितिका सल्लाकार नवराज चापागाईंले बताए । नगरपालिकाको राम्रो आयस्रोतका रूपमा हेरिएको वाकिङ स्ट्रिट निर्माण ढिलो हुँदा नगरलाई समेत घाटा भएको छ ।

विभिन्न समस्याका कारण वाकिङ स्ट्रिट निर्माणमा ढिलाइ भएको नगरपालिकाकी उपप्रमुख धना तामाङले बताइन् ।