धरानः किरात राई यायोख्खाको धरानमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत भएका कार्यपत्र, प्रतिवेदन र प्रस्तावहरूमाथिको छलफल सोमबार सकिएको छ ।
प्रतिवेदनहरूमाथि छलफल र संशोधन गर्ने प्रत्रिया लोकतान्त्रिक विधिबाट टुङ्गिएको महाधिवेशनमा सहभागी प्रतिनिधि नवीन राईले जानकारी दिए । सोमबार नै यायोख्खाको विधान संशोधन र निर्वाचनका कार्यक्रम हुने उनले बताए ।
देशको नयाँ संरचना अनुसारको साङ्गठनिक संरचना बनाउन र समयानुकूलका व्यवस्थाहरू राख्दै विधान संशोधन गर्न लागिएको उनले बताए । महाधिवेशनका प्रचारप्रसार संयोजक उपेन्द्र चाम्लिङका अनुसार सम्भव भएसम्म आजै निर्वाचनका कार्यक्रम गर्ने तयारी भएको छ ।
महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन गर्ने छ । यायोख्खाले १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरण गर्न माग गर्दै अधिवेशनबाटै दबाब दिने बताएको छ ।
धरान–८ स्थित धरान सभागृहमा भइरहेको बन्द सत्रमा प्रतिनिधि र पर्यवेक्षक गरी करिब एक हजार जनाको सहभागिता रहेको छ ।